क्रिप्टो एक्सचेन्जर बाइनान्स विरुद्ध मुद्दा दर्ता

0
Shares

अमेरिकाको कमोडिटी फ्युचर ट्रेडिङ कमिसनले क्रिप्टो एक्सचेन्जर–बाइनान्स, बाइनान्सको संस्थापक र प्रमुख कार्यकारी अधिकृतका विरुद्धमा मुद्दा दायर गरेको छ।

ट्रेडिङ कमिसनले सोमबार बाइनान्स विरुद्ध अवैधानिक एक्सचेन्जमा सहभागी भएको ठहर गर्दै मुद्दा दर्ता गरेको हो । कमिसनले बाइनान्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चेङपेङ जाओले क्रिप्टो एक्सचेन्जका क्रममा लगानीकर्तालाई ठगि गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।

बाइनान्सका संस्थापक जाओले कमोडिटी फ्युचर ट्रेडिङ कमिसनले आफूविरुद्ध मुद्दा दर्ता गर्नु अकल्पनीय र दुखद रहेको जनाएका छन् । उनले आफू विरुद्ध लगाइएको मुद्दालाई पुष्टि गर्ने तथ्य अपुग रहेको र मुद्दामा उठाइएका विषयमा आफूहरुको विमति रहेको विज्ञप्ति जारी गरेका छन् ।

पछिल्लो समयमा क्रिप्टोकरेन्सीका ठूला फर्महरु टाट पल्टिदै गएका छन् । क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो फर्म एफटीएक्स टाट पल्टिएर उक्त कम्पनीका संस्थापक बैंकम्यान फ्राइडमाथि मुद्दा चलिरहेको समयमा बाइनान्स विरुद्ध कमिुनले मुद्दा दर्ता गरेको हो ।

यस अघि सन् २०१८ मा बाइनान्स मनी लौन्ड्रिङमा संलग्न भएको र १० अर्ब डलर आपराधिक गतिविधिमा संलग्न मानिसहरुलाई फाइनान्स गरेको अभियोगमा अमेरिकी न्याय विभागले बाइनान्समाथि अनुसन्धान सुरु गरेको थियो ।

सन् २०१७मा चीनको साङ्घाईमा स्थापना भएको बाइनान्सले क्रिप्टोकरेन्सी कारोबारमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । बाइनान्स एप र वेबसाइटबाट क्रिप्टो कारोबार गर्नेहरुले क्रिप्टो खरिद तथा बिक्री गर्छन् । क्रिप्टोकम्पेयरले प्रकाशन गरेको तथ्यांक अनुसार सन् २०२१ मा बाइनान्स मार्फत २३ ट्रिलियनको कारोबार गरिएको थियो ।

बाइनान्सले अहिलेसम्म आफ्नो केन्द्रीय एक्सचेन्ज कार्यालयको बारेमा कुनै जानकारी गराएको छैन । बाइनान्सका संस्थापक जाओले बाइनान्सको केन्द्रीय कार्यालय केम्यान आइल्यान्डमा रहेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।