उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी तथा व्यवसाय प्रवर्द्धन सम्झौता

0
Shares

नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ ।

समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरे । दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदान लगायतमा सहकार्य हुनेछ ।

काठमाडौंमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबै भन्दा पुरानो संस्था इण्डियन च्याम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यवसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धन लगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रवर्द्धनमा दुई संस्थाबीच सहकार्य हुने बताए ।

इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताए।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुबै संस्थाले लविइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।