वोमी र नागरिक लघुवित्तलाई राष्ट्र बैंकले दियो मर्जरको अन्तिम स्वीकृति


वोमी लघुवित्त र नागरिक लघुवित्तलाई एक आपमामा भाभ्न र गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । मंसिर ६ गते राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

यस अघि नै दुई लघुवित्तलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेको बैंकले शुक्रबार अन्तिम स्वीकृति दिएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत वोमी र सार्वजनिक शेयर निष्काशन नगरेको नागरिक लघुवित्तले मर्जर सम्झौता गरि गत असोज २ मा विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित गराएका थिए ।

विशेष साधारण सभाबाट दुवै संंस्थाले मुल्यांकनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण भएको शेयर आदान प्रदान अनुपात पारित गराएका थिए । वोमीको १०० कित्ता बराबर नागरिकको ७२ कित्ताको अनुपातमा शेयर आदान प्रदान गर्ने गरी राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

वोमीको चुक्ता पूँजी १० करोड १० लाख र नागरिक लघुवित्तको चुक्ता पूँजी एक करोड ७५ लाख रुपैयाँ छ । वोमीले मर्जर सम्झौता भए पछि शतप्रतिशतले हुने १० करोड १० लाख ८८ हजार बराबरको हकप्रद बिक्री गरिसकेको छ । शतप्रतिशत हकप्रद र नागरिक लघुवित्तलाई ७२ को स्वाप रेसियोमा प्राप्ती गरे पछि वोमी लघुवित्तको चुक्ता पूँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

२०६८ साल देखि सञ्चालनमा रहेको वोमी लघुवित्तको मुख्य कार्यालय चितवनको भरतपुरमा छ । वामीले ३२ जिल्लामा लघुवित्त सेवा दिँदै आएको छ ।
२०७४ मंसिर २४ गते सञ्चालन स्वीकृति पाएको नागरिक लघुवित्तको काभ्रेको बनेपामा मुख्य कार्यालय छ भने १० जिल्लामा लघुवित्त सेवा दिँदै आएको छ ।