प्राइम कमर्शियल बैंकले घोषणा गर्यो बोनस


प्राइम कमर्शियल बैंकले गत आर्थिक वषको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर ९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस बितरण गर्ने निर्णय गरेको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमा रहेका कारण कर छुटको उपयोग गर्दै बैंकले बोनस मात्र बितरण गर्ने निर्णय गरेको हो ।

अहिले बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब २३ करोड ६७ लाख रुपैंया पुग्नेछ ।

अघिल्लो आर्थिक वर्षको कमाईबाट पनि बैंकले लगानीकर्तालाई १६ प्रतिशत नै बोनस बितरण गरेको थियो ।

केही समय अघि मात्र झापामा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकलाई आफुमा गाभेको प्राइमले कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई आफुमा गाभ्ने सम्झौता गरिसकेको छ । आगामी साधारण सभाबाट उक्त प्रस्ताव अनुमोदन गराई तीनवटै बैंक तथा वित्तीय संस्था विलय प्रकृयाको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने छन् ।