मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागी आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको १०० रुपैयाँ अंकित दरको १६ लाख २७ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्टाएका थियो ।
जस मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित ५ लाख ५ हजार ७८० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि बाँडफाँड गरिसकेको छ भने १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ । लगानीकर्ताहरुले बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरमा लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीको आएपीओमा २०८० साल बैशाख ४ गतेदेखि बैशाख ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा बैशाख १९ गतेसम्म आवेदन खुला रहनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
कहाँबाट भर्न सकिन्छ ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको बारेमा
कम्पनीले संखुवासभा जिल्लामा ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन सुरु भएको छ ।
आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ । अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ ।
आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ९.६४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुन २७.३६ वर्ष लाग्नेछ । आयोजनाको विद्युत उत्पादन अनुमति २८ वर्ष बाँकी रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्ता पुँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया