नेपालकै पुरानो सहकारी संस्था साझा स्वास्थ्य सेवाले आफ्ना सम्पुर्ण बैंकिङ्ग कारोवार कृषि विकास बैंकमार्फत् गर्ने भएको छ ।
साझा स्वास्थ्य सेवाका महाप्रवन्धक श्री चुडामणि भण्डारी र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसहित उच्चपदस्त कर्मचारीहरुको उपस्थितिमा विहीवार उक्त सम्झौता भएको हो ।
सम्झौतापत्र आदनप्रदान गदै साझा स्वास्थ्य सेवाका महाप्रवन्धक भण्डारीले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वाभाविक रुपमा दुबैलाई मिल्छ । सरकारी संस्थाहरु बीच बैंकिङ सेवालगायत अन्य पुर्वाधार प्रयोगमा साझेदारी कायम गर्न सकेमा दुवै संस्था वलियो हुने र व्यावसायिक संस्थाको कारोवार समेत पारदर्शी हुने छ । ‘
कृषि विकास बैंकसँग कारोवार गर्दा थप गौरव महसुस गर्दै आजको सरकारी वैंक अन्य निजी क्षेत्रका बैंक भन्दा अब्वल रहेका र वैंकिङ कारोवार तथा ग्राहक सेवामा समर्पित रहेकोले कृषि विकास बैंकसँग बैंकिङ कारोवार गर्न साझा स्वास्थ्य सेवा तत्पर रहेको कुरा उल्लेख गरे ।
सरकारी स्वामित्वका संस्थाहरु वीच कारोवार हुँदा एक अर्का बीच व्यवसायिक साझेदारी वृद्धि भई सरकारी वजेटमा संचालन हुने संस्थाहरु आत्मनिर्भर तथा व्यावसायिक हुने भएकोले देशको आर्थिक क्षेत्रमा थप योगदान गर्न सक्षम वन्ने विश्वास व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले साझा स्वास्थ्य सेवाका देशभरी रहेका औषधी पसल, स्वास्थ्य सेवाका कर्मचारीको तलव वचत खातालगायत कर्जा, बैंक जमानत तथा प्रतितपत्र कारोवार समेत बैैंकले गर्ने गरी भएको सम्झौताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै बैंक सधैं ग्राहक सेवामा समर्पित रही गुनासोरहित सेवा प्रदान गर्न तत्पर रहेको कुरा वताए ।
बैंकिङ वजारमा सरकारी बैंकको कारोवारका सम्वन्धमा सकारात्मक धारणा सृजना हुँदै गइरहेको र सरकारी बैंक नै देशको वैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्वन्धलाई थप मजवुत बनाई दिगो प्रभावकारी कारोवार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यो सम्झौतामा बैंकले साझा स्वास्थ्य सेवाका औषधि पसलहरुबाट बैंकले नगद संकलन गरी बैंक खातामा जम्मा गरिदिने छ भने स्वास्थ्य सेवाका कर्मचारीहरुका लागि विना धितो कर्जा दिनेछ । यस अतिरिक्त तलव खातामा निःशुल्क डेविट कार्ड तथा विद्युतीय भुक्तानीका सेवाहरु निःशुल्क रुपमा प्रदान गर्ने छ ।
बैंकको लकर सेवामा समेत ५० प्रतिशत छुट प्रदान गर्ने छ । प्रतितपत्र कारोवार तथा विदेशी मुद्राको कारोवारमा समेत छुट प्रदान गरी साझा स्वास्थ्य सेवाको व्यवसायिक बैंकिङ पार्टनर भई कार्य गर्ने छ । साझाले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।
सम्झौता समारोहमा साझा स्वास्थ्य सेवाको तर्फबाट महाशाखा प्रमुखद्धय किशोरकुमार दाहाल, सिद्धिरत्न वज्राचार्यको उपस्थिति थियो भने बैंकका तर्फबाट विभागीय प्रमुख मिनराज पोखरेल, घनेन्द्र अधिकारी, माधव रिजाललगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंक र साझा स्वास्थ्य सेवाबीच व्यवसायिक सहकार्य गर्नु सम्झौताको मुल उद्देश्य रहेको छ । कार्यक्रमको संचालन बैंकको निक्षेप व्यवस्थापन विभागका वरिष्ठ शाखा प्रमुख धु्रव पौडेलले गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया