उवा महासंघको ५७ औं वार्षिक साधारण सभा सुरु, भोलि मतदान

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभा मंगलबार सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालबाट होटल याक एण्ड यतिमा साधारण सभाको उद्घाटन सम्पन्न हुँदैछ ।  भोलि ( चैत २९ गते) सम्म चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । महासंघको निर्वाचन समितिको शनिबारको बैठकले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने मतदानमा कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानरहरु टाँस्न, झुन्ड्याउन र भड्किलो प्रदर्शन गर्न रोक लगाइएको छ । मुख्य प्रतिनिधि परिचय पत्रका साथै आफ्नो परिचय पत्र खुल्ने फोटोसहितको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानस्थलमा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएको छ । तोकिएको समयावधिमा मतदात सुरु हुन नसके त्यति नै समय थप गरिने कार्यालयले जनाएको छ । समयभित्र मतदान स्थलभित्र प्रवेश गर्ने मतदातालाई जतिसुकै समय लागे पनि भोट खसाल्न पाउनेछन् ।

विधान अनुसार महासंघको अध्यक्ष हालका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः हुनेछन् । वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।

मतदान र मतगणना स्थलमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन–तीन जना प्रतिनिधि राख्न सक्नेछन् । एसोसिएटका समुहका लागि ३ वटा र जिल्ला–नगर तथा वस्तुगत संघ समूहका लागि १।१ वटा मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन समितिको कार्यालयका अनुसार एसोसिएट समूहका सबै पदका लागि सेतो रङ्गको र जिल्ला–नगर समूहका सबै पदका लागि रातो र वस्तुगत समूहका सबै पदका लागि निलो रङ्गको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ ।

महासंघको निर्वाचनमा हरेक संघको मतभार फरक(फरक हुन्छ । जसअनुसार जिल्ला–नगर उद्योग संघको ५०, वस्तुगतको २० तथा द्विराष्ट्रिय र एसोसिएटको समान १५–१५ प्रतिशत मतभार रहन्छ । जिल्ला–नगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १७६२ गरी कुल २०१८ सदस्य छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।