निर्माण क्षेत्रमा छाएको मन्दीबीच घट्यो श्रीकृष्ण स्टीलको सञ्चालन आम्दानी

0
Shares

पुर्वाधार विकास तथा निर्माणका कामहरु सुस्त भएसँगै हाल नेपालका अधिकांश स्टील तथा सिमेन्ट उद्योगहरुको आम्दानी घटेको छ । केयाल ग्रुपको लगानी रहेको श्रीकृष्ण स्टील उद्योगको सञ्चालन आम्दानी सन् २०२२ मा १७ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा कम्पनीले १ अर्ब ६१ हजार २० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानीमा १७ प्रतिशतको गिरावट आएको हो ।

कम्पनीको आम्दानीमा गिरावट आएसँगै अन्य वित्तीय सूचांक घटेका छन् । सन् २०२१मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहित नाफा कुल सञ्चालन आम्दानीको ९.७१ प्रतिशत थियो भने सन् २०२२मा सो नाफा घटेर कुल सञ्चालन आम्दानीको ६.४८ प्रतिशत कायम भएको छ ।

यस्तै कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमतामा पनि गिरावट आएको छ । सन् २०२१ मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ४.७२ गुणा थियो भने सन् २०२२मा उक्त क्षमतामा ह्रास आई १.७७ गुणा रहेको छ ।

सन् १९९५ मा स्थापना भएको श्रीकृष्ण स्टील्स उद्योगले पाइप, जसता पाता, सटर पाताको उत्पादन गर्दै आएको छ । कम्पनीको फ्याक्ट्री बाराको जीतपुरमा अवस्थित छ । कम्पनीमा केयाल ग्रुपको लगानी र केयाल ग्रुप नै प्रमोटर रहेको छ । कम्पनीका नेपालभर १२९ क्षेत्रमा डिलर रहेका छन् । केयाल ग्रुपकै अध्यक्ष सत्य नारायण केयाल कम्पनीका अध्यक्ष रहेका छन् । यस्तै कम्पनीका प्रबन्ध निर्देशक विकास कुमार केयाल हुन् ।

कम्पनीले १ अर्ब ४१ करोड ४८ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । २ करोड ४८ लाख बराबरको दीर्घकालीन कर्जाका लागि केयर नेपालले डबल बी र १ अर्ब ३९ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।