नबिलले नौ महिनामै कमायो ५ अर्ब बढी नाफा, खराब कर्जा उच्चदरले बढ्यो

0
Shares

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात ९ महिनाको अवधिमा ५ अर्ब भन्दा बढी नाफा कमाएको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको वितणयोग्य नाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।

गत वर्षको तुलनामा बैंकको नाफा ५२.६२ प्रतिशत बढेको हो। गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो। नेपाल बंगलादेश बैंकलाई गाभेको बैंकको नाफामा गत वर्षको तुलनामा उच्च सुधार आएको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको ब्याज आम्दानी ८३.६२ प्रतिशत तथा कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशतले बढेको छ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २७ अर्ब ५ करोड पुर्याएको बैंकको जगेडा कोषमा २७ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ।

बैंकका निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको छ । जसको कारण इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा तथा प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।