बैंकहरुको खुद ब्याज आम्दानीको साढे १२ प्रतिशत उठ्न बाँकी, ६ बैंकको विवरण मापदण्ड विपरित

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकासित गर्दा आधा दर्जन बैंकले नियामकीय मापदण्ड पूरा गरेका छैनन् । बैंकहरुले नेपाल राष्ट्र बैंक तथा नेपाल फाइनान्सीयल रिपोटिङ्ग स्ट्याण्डर्डले (एनएफआरएस) तोकेअनुसार वितरण योग्य नाफाको विवरण नदेखाएका हुन् ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा एनएमबि बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र कुमारी बैंकले नियामकले तोकेको मापदण्ड अनुसार वितरण योग्य नाफाको विवरण नदेखाएका हुन । यी बैंकहरुले विगतकै शैलिमा वितरण योग्य नाफाको विवरण देखाएका छन् ।

आधा दर्जन बैंकहरुले नियामकीय सञ्चितिमा सारेको रकम मात्र उल्लेख गरेका छन । बैंकहरुले नियामकीय संञ्चिति पनि कुन कुन शिर्षक हो उल्लेख गरेका छैनन् । त्यसो नगर्दा ती बैंकहरुको उठ्न बाँकी रहेको ब्याज आम्दानी पनि उल्लेख छैन । उठिसकेको र उठ्न बाँकी भएकोलाई पनि आम्दानी देखाउन पाइने भएपनि त्यसलाई नाफा वितरणका लागि प्रयोग गर्न पाइदैन । त्यसका साथै उठ्न बाँकी रहेको ब्याजलाई वितरण योग्य नाफाको विवरणमा उल्लेख गर्नु पर्ने व्यवस्था छ ।

बैंकहरुले त्रैमासीक रुपमा प्रकासीत गर्ने वित्तिय विवरणमा एकरुपता नदेखिएको पुर्व बैंकर परशुराम कुँवर क्षेत्रीले बताए । बैंकहरुले नियामकले तोके अनुसार वितरण योग्य नाफाको विवरण नभएको जनाएका हुन ।

बैंकहरुले आफ्ना कमजोरी लुकाउन नियामकीय मादण्ड पुरा नगर्ने गरेको अर्का एक बैंकरले बताए । “बैंकहरुले आफु अनुसार वित्तीय विवरण ल्याउँदा सर्वसाधारणमा अन्योलता बढ्छ,” उनले भने,“सेयर लगानीकर्ताले त्यसलाई आधार बनाएर लगानी गर्दा फस्ने जोखिम हुन्छ ।” बैंकहरुले सर्वसाधारणलाई झुक्याउने गरी विवरण प्रकासीत गर्दा बैंकिङ क्षेत्रप्रतिको विश्वसनियतामा समेत असर गर्ने उनको भनाई छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका २१ वाणिज्य बैंक मध्ये १५ ले मात्र वितरण योग्य नाफाको विवरणमा उठ्न बाँकी ब्याज उल्लेख गरेका छन् । सो अनुसार औसतमा बैंकहरुको उठ्न बाँकी ब्याज साढे १२ प्रतिशत रहेको देखिन्छ । चालु आर्थिक वर्षको चैतसम्ममा २१ बैंकहरुको खुद ब्याज आम्दानी १३५ अर्ब ८८ करोड २६ लाख रुपैयाँ रहेको छ । वितरण योग्य नाफाको विवरणमा उठ्न बाँकी रहेको ब्याज उल्लेख गरेका १५ बैंकहरुको भने खुद ब्याज आम्दानी ८८ अर्ब १६ करोड रुपैयाँ रहेको छ । सो अवधिमा १५ बैंकहरुको कुल उठ्न बाँकी ब्याज १० अर्ब ९६ करोड ६४ लाख रुपैयाँ रहेको छ । यो रकम १५ बैंकको खुद ब्याज आम्दानीको १२.४३ प्रतिशत हो ।

चालु आवको चैतसम्ममा सबैभन्दा धेरै ब्याज उठ्न बाँकी ग्लोबल आइएमइ बैंकको रहेको छ । यो अवधिमा बैंकको कुल एक अर्ब ८२ करोड ३७ लाख रुपैयाँ ब्याज उठ्न बाँकी छ । यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानीमा उठ्न बाँकी ब्याजको हिस्सा १५.४५ प्रतिशत हुन आउछ ।

त्यसैगरी चालु आवको चैतसम्ममा कृषि विकास बैंकको एक अर्ब ३३ करोड ३९ लाख, हिमालयन बैंकको एक अर्ब ३१ करोड ६२ लाख, एनआइसी एसिया बैंकको ९६ करोड ३ लाख, नेपाल बैंकको ९४ करोड ४ लाख तथा सिटिजन्स बैंकको ६५ करोड ४३ लाख रुपैयाँ ब्याज उठ्न बाँकी छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकको खुद नाफा भन्दा धेरै उठ्न बाँकी ब्याज रहेको छ । चैतसम्ममा बैंकले एक अर्ब ४ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा भन्दा धेरै अर्थात एक अर्ब ३३ करोड ३९ लाख रुपैयाँ ब्याज उठ्न बाँकी छ । बैंकको ब्याज उठ्न धेरै बाँकी भएकाले खुद वितरण योग्य नाफा ८९ करोड ७० लाख रुपैयाँ नोक्सानीमा पुगेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुले ४८ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफामा उठ्न बाँकी रहेको ब्याजलाई समेत जोडिएको छ । नियामकीय मापदण्ड अनुसार वित्तीय विवरण प्रकासीत गरेका बैंकहरुको मात्रै उठ्न बाँकी रहेको रकम करिब ११ अर्ब रुपैयाँ रहेको छ । बाँकी ६ बैंकको पनि जोड्ने हो भने बैंकहरुको नाफा निकै कम देखिने निश्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।