सरकारले आन्तरिक ऋणका लागि २८ अर्ब ६० करोडकोे ट्रेजरी जारी गर्दै, के होला ब्याजदर ?

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर २८ अर्ब ६० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ । सरकारले २० अर्ब रुपैयाँ बरावरको नयाँ र ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो ।

सरकारले सोमबार ५ अर्बको २८ दिने, ३ अर्ब ६० करोडको पुरानो ऋणपत्रको सावाँ फिर्ता नगरी नविकरण गर्न लागेको हो । त्यसैगरीे सरकारले ५ अर्बको २८ दिने, ५ अर्बको ९१ दिने, ६ अर्बको १८२ दिने तथा ४ अर्ब बराबरको ३६४ दिने गरी २० अर्ब बरावरको नयाँ ट्रेजरी मार्फत आन्तरिक ऋण उठाउन खोजेको हो ।

वैशाख ११ गते सोमबार बोलकबोल हुने ट्रेजरी बिल्स वैशाख १२ गते मंगलबार निष्कासन हुनेछ। राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने गर्छ ।

सरकारले विकास खर्च गर्न नसकेको र चालु खर्चका लागि समेत राजस्व संकलन नभएपछि अन्तरिक ऋण उठाउने क्रमलाई बढवा दिएको हो । चालु खर्च पनि प्रयाप्त नहुने गरी राजस्व संकलन भएपछि सरकारले बैंकिङ क्षेत्रको जटिल अवस्थामा पनि आन्तरिक ऋण उठाउन लागेको हो ।

बैंकहरुले घटाएको अनुपात सरकारी ऋणपत्रको डिस्काउन्ट रेट भने घटेको छैन । यसअघि गत वैशाख ४ गते सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट सामान्य घटेको छ । ट्रेजरी बिल्सको डिस्काउन्ट रेटलाई अल्पकालिन ब्याजदरको रुपमा हेरिन्छ । बैंकिङ क्षेत्रको ब्याजदरलाई निर्देशित गर्ने तत्वहरु मध्येको डिस्काउन्ट रेट पनि एक हो ।

गत वैशाख ४ मा निष्कासन गरेको २४ अर्ब ७० करोडको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट गत चैत २८ गतेको तुलनामा सामान्य घटेको छ । जसको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.३३८० प्रतिशत कायम भएको थियो । यसभन्दा अघि चैत २८ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.५४८७ प्रतिशत थियो।

त्यसैगरी ९१ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट ९.६३७१ प्रतिशत कायम भएको थियो। यसभन्दा अघि चैत २८ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.७९२० प्रतिशत थियो ।

यसअघिको निष्कासनमा १८२ दिने ट्रेजरीकोे औसत डिस्काउन्ट रेट ९.६५३७ प्रतिशत कायम भएको थियो । त्यसभन्दा पनि अघि चैत २८ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.७९६४ प्रतिशत थियो ।

त्यसैगरी गत वैशाख ४ गते सोमबार निष्कासन भएको ३६४ दिने नयाँ ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.५५०० प्रतिशत कायम भएको छ । यसभन्दा अघि चैत २८ गते निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.६४०७ प्रतिशत थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।