निर्माण क्षेत्रमा छाएको मन्दीले १२% ले घट्यो विजयश्री स्टीलको व्यापार

0
Shares

पछिल्लो समयमा पुर्वाधार विकास तथा निर्माणका कामहरु सुस्त भएसँगै हाल नेपालका अधिकांश स्टील तथा सिमेन्ट उद्योगहरुको आम्दानी घटेको छ । व्यापारिक घराना विजय ग्रुप अफ कम्पनीजको लगानी रहेको विजयश्री स्टील प्रालिको सञ्चालन आम्दानी सन् २०२२ मा ११.८० प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ४ अर्ब ७१ करोड ८० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा कम्पनीले ५ अर्ब ३४ करोड ९० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानीमा ११.८० प्रतिशतको गिरावट आएको हो ।

कम्पनीको आम्दानीमा गिरावट आएसँगै अन्य वित्तीय सूचांक घटेका छन् । सन् २०२१मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहित नाफा कुल सञ्चालन आम्दानीको २.२८ प्रतिशत थियो भने सन् २०२२मा सो नाफा घटेर कुल सञ्चालन आम्दानीको १.९७ प्रतिशत कायम भएको छ ।

यस्तै कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमतामा पनि गिरावट आएको छ । सन् २०२१ मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ४.४४ गुणा थियो भने सन् २०२२मा उक्त क्षमतामा ह्रास आई १.१२ गुणा रहेको छ ।

सन् २०१७ मा स्थापना भएको विजयश्री स्टील्स उद्योगले टिएमटी छडको उत्पादन गर्दै आएको छ । कम्पनीको फ्याक्ट्री कपिलवस्तुमा अवस्थित छ । प्रतिदिन ७ सय मेट्रिक टन टीएमटी छड उत्पादन गर्न सक्ने उद्योगको क्षमता रहेको छ । कम्पनीले बिलेटको उत्पादनका लागि सन् २०१८मा ४०० मेट्रिक टन बिलेट प्रतिदिन उत्पादन गर्न सक्ने प्लान्ट जडान गरेको छ ।

कम्पनीमा विजय ग्रुपको लगानी रहेको छ भने विजय ग्रुप नै प्रमोटर रहेको छ । विशेषत नेपालको पुर्वी क्षेत्रमा स्टील उद्योगहरु पश्चिम क्षेत्रको तुलनामा धेरै रहेका छन् । पश्चिममा रहेको यस उद्योगले पश्चिम तथा केन्द्रीय क्षेत्रमा आफ्ना उत्पादनको बिक्री वितरण गर्दै आएको छ । कम्पनी विकास केडियाको अध्यक्षतामा सञ्चालन भइरहेको छ ।

कम्पनीले ४ अर्ब ६ करोड ५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । १ अर्ब १६ करोड ५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि केयर नेपालले डबल बी माइन्स र २ अर्ब ९० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।