चितवन, तनहुँ र बाराको उपनिर्वाचन सकियो, मतदाता घटे


वैशाख १० गते आइतबारका लागि निर्धारित बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको आयोगको भनाई छ ।

“हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ, जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ५३ प्रतिशत मतदान भएकोे छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ दशमलव ५६ प्रतिशत चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६७ दशमलव ६३ प्रतिशत तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो,” आयोगले भनेको छ ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ ः ०० बजेभित्र, चितवन जिल्ला क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १०ः०० बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं. १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको आयोगले जनाएको छ ।

मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।