हुलास स्टीलको आम्दानीमा आकर्षक वृद्धि, वार्षिक कारोबार साढे १५ अर्ब

0
Shares

व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको हुलास स्टील इन्डष्ट्रिजको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि भएको छ ।

सन् २०२१ मा ११ अर्ब ४७ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा ४ अर्ब १७ करोड ७६ लाखले वृद्धि भई १५ अर्ब ६५ करोड ३० लाख पुगेको हो ।

सन् १९८१ मा स्थापना भएको हुलास स्टील इन्डष्ट्रिजले सादा तथा रङ्गीन जसता पाता, पाइप लगायतका विभिन्न सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले जसता पाताको बिक्रीबाट कुल आम्दानीको ७१ प्रतिशत आम्दानी गरेको छ । कुल आम्दानीको ११ प्रतिशत पाइपको बिक्रीबाट र बाँकी अन्य सामाग्रीको बिक्री वितरण मार्फत आर्जन गरेको छ ।

कम्पनीमा र्चान्ली डेभलपमेन्ट कम्पनीको सेयर हिस्सा ५० प्रतिशत रहेको छ भने गोल्छा परिवारका जयश्री गोल्छाको २१ प्रतिशत, हिमान्सु गोल्छाको ६ प्रतिशत, हितेश गोल्छाको ६ प्रतिशत र हुलास मेटल क्राफ्टको ६ प्रतिशत सेयर हिस्सा रहेको छ ।

कम्पनीको कसल उत्पादन क्षमता ४ लाख ८१ हजार ७६२ मेट्रिक टन रहेको छ । जसता पाता उत्पादन गर्न सक्ने क्षमता प्रति वर्ष ३ लाख ९४ हजार ७०० मेट्रिक टन रहेको छ भने वार्षिक ५० हजार मेट्रिक टन पाइप उत्पादन क्षमता छ ।

निर्माण क्षेत्रमा छाएको मन्दीका समयमा समेत हुलास स्टील इन्डष्ट्रिजको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएको छ । कम्पनीले ८ अर्ब ७५ करोड ५ लाख रुपैयाँ बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले १२ करोड ३० लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी प्लस रेटिङ गरेको छ । कम्पनीको आम्दानीमा आएको सुधारका कारण एजेन्सीले यस अघि दिएको ट्रिपल बी रेटिङ बढुवागरी ट्रिपल बी प्लस पु¥याएको हो ।

यस्तै ८ अर्ब ६२ करोड ७५ लाख बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए२ प्लस रेटिङ गरेको छ । यस अघि दिएको ए२ रेटिङ बढुवा गरी एजेन्सीले ए२ प्लस रेटिङ गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।