वैदेशिक व्यापारमा ५.१६ प्रतिशतको गिरावट, व्यापार घाटा भने घट्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक व्यापार ५.१६ प्रतिशतले घटेको हो। गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो।
तर, वैदेशिक व्यापारमा गिरावट आएपनि आयातको तुलनामा निर्यात बढेपछि व्यापार घाटामा भने कमी आएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा मुलुकको व्यापार घाटा ८.९० प्रतिशतले घटेको छ । कार्तिकसम्म मुलुकको व्यापार घाटा ४ खर्ब १४ अर्ब १ करोड रुपैयाँमा छ। गत वर्षको यही अवधिमा कूल व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ थियो।

चालु आर्थिक बर्षको चार महिनाको अवधिमा आयात ६.९२ प्रतिशतले घट्दा निर्यातमा २३.९० प्रतिशतले सुधार आएको छ । चालु वर्षको पहिलो चार महिनामा नेपालले ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात गर्दा ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ।

सबैभन्दा धेरै प्रोशोधित पाम तेल निर्यात, आयातमा डिजेल

चार महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । यस अवधिमा २९ अर्ब २४ करोड बराबरको डिजेल आयात भएको छ । यस्तै तयारी कपडा १४ अर्ब ७३ करोड, एम एस बिलेट १२ अर्ब ७० करोड, पेट्रोल १२ अर्ब ३७ करोड, एच आर सिट ९ अर्ब ७७ करोड बराबरको आयात भएको छ । यस्तै हवाई जहाज र हेलिकप्टर ९ अर्ब २१ करोड, एलपि ग्यास ८ अर्ब ९० करोड, मोबाइल टेलिफोन ८ अर्ब ६२ करोड, औषधि ८ अर्ब ३१ करोड तथा मोटरसाइकल ८ अर्ब १७ करोड बराबरको आयात भएको छ ।

यस अवधिमा नेपालबाट सबैभन्दा धेरै प्रोशोधित पाम तेल ८ अर्ब ३६ करोड बराबरको निर्यात भएको छ । यस्तै सेन्थेटिक यार्न २ अर्ब ७९ करोड, गलैंचा कार्पेट २ अर्ब ६२ करोड, तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल २ अर्ब २ करोड, अलैंची एक अर्ब ५४ करोड, फलफुल जुस एक अर्ब ३० करोड, चिया एक अर्ब १६ करोड तथा दोसल्ला पछ्यौरा एक अर्ब ६ करोड बराबरको निर्यात भएको छ ।