महालक्ष्मी लाइफले बीमितलाई अधिकतम ५२ रुपैयाँसम्म बोनस दिने

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमितलाई अधिकतम प्रतिहजार ५२ रुपैयाँसम्म बोनस दिनेगरी आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्षको वित्तीय विवरण बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृति पाएसँगै विभिन्न बीमा योजना र बीमा अवधिका आधारमा मुनाफामा सरिक हुने बीमतहरुका लागि प्रतिहजार न्यूनतम ४० देखि ५२ रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको हो ।

विसं २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले विभिन्न ६ वटा योजना र समयावधिका आधारित भई कुल २० हजार ५०८ वटा बीमालेख बिक्री गरेको छ ।

प्रकाशित सूचना अनुसार कम्पनीको ‘महालक्ष्मी सावधिक जीवन बीमा योजना’ मा बीमितले प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस पाउनेछन् । यस योजना अन्तर्गत ५ देखि १५ वर्ष उमेर समुहको बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ, १६ देखि २५ वर्षकाले ५१ रुपैयाँ र २६ देखि ३० वर्षको बीमालेख खरिद गर्दा अधिकतम ५२ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

यस्तै कम्पनीको महालक्ष्मी सरल जीवन बीमा’ र ‘महालक्ष्मी जीवन हेरचाह बीमा योजना’ मा बीमा अवधिको आधारमा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँ बोनस पाउनेछन् । यी योजना अन्तर्गत दुबैमा ५ देखि १५ वर्ष अवधिमा ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमलेखमा ५१ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

यस्तै ‘महालक्ष्मी वार्षिक धन फिर्ता’ र ‘महालक्ष्मी धनधान्य बीमा योजना’ मा कम्पनीले समान प्रतिहजार ४० रुपैयाँ बोनस दर तोकेको छ । यी दुबै योजनाको ५ देखि १५ र १६ देखि २५ वर्षसम्म एकै बोनसदर निर्धारण गरिएको छ । यस्तै छैटौं प्रकारको ‘महालक्ष्मी सावधिक आजीवन बीमा योजना’ का सबै वर्षमा बीमितले समान ५० रुपैयाँ बोनस दर तोकिएको छ । यस योजनाको ५ देखि १५ वर्ष, १६ देखि २५ वर्ष र २६ देखि ३० वर्ष सबैमा ५० रुपैयाँ मात्र बोनस पाइने कम्पनीले जनाएको छ ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ । कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि सोही बमोजिम अन्तरिम बोनस दर कायम गरिएको छ ।

जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन (एक्चुअरी भ्यालुएशन) मा ढिलाई हुने हुँदा सम्बन्धीत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्याङ्कनमा गरी बोनसदर निर्धारणमा समेत ढिलाई हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।