जगदुल्लाको पिपिए सम्पन्न, एक महिनाभित्र स्रोत व्यवस्थापन सम्झौता

0
Shares

जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । 

नेपाल विद्युत प्राधिकरण र जगदुल्ला हाइड्रोपावर कम्पनीसँग बुधबार पिपिए सम्झौता भएको होे पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कर्णाली प्रदेशको डोल्पामा १०६ मेगावाटको आयोजना निर्माण गर्दैछ । सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट हिउँदमा सामान्य समयमा उत्पादन हुने प्रतियुनिट विद्युत ८.४० रुपैयाँमा खरिद गर्नेछ । यस्तै, कम्पनीले आयोजनाबाट हिउँदमा ‘पिक आवर’ (बढी विद्युत खपत हुने बिहान र साँझको समय) मा उत्पादन गर्ने विद्युत प्रतियुनिट १०.४० रुपैयाँमा प्राधिकरणलाई बिक्री गर्नेछ । बर्खायामको विद्युतका लागि भने प्रतियुनिट ४.८० रुपैयाँ दरमा प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताए ।

आयोजनाको प्रवर्द्धक कम्पनीले विद्युतको यो दरमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ । डोल्पाको मुड्केखोला गाउँपालिकामा अवस्थित यो आयोजनाले सुख्खा याममा ४ देखि ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ ।

पिपिएमा तोकिएको तालिका अनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने सुरु गरिनेछ । आयोजनाको पिपिए सम्पन्न भइसकेकाले अबको एक महिनाभित्रमा बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय स्रोत व्यवस्थापन सम्बन्धि सम्झौता गर्ने तयारी गरेको छ ।

आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । ऋण बाहेकको ३० प्रतिशत अर्थात ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइनेछ । आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुक्ता गर्ने प्रक्षेपण छ । यही कम्पनी अन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ ।

आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ । सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर रहेको छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।