टेलिकमको कुल आम्दानी सवा ३३ अर्ब, ग्राहक आय घटेपनि ब्याजबाट कमाउँदा ६७ करोडले बढ्यो

0
Shares

सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ ।

गत आवको सोही अवधिमा नेपाल टेलिकमले ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार कुल आयको गरेकोमा समीक्षा अवधिमा २.०६ प्रतिशत अर्थात ६७ करोड १८ लाख ३६ हजार रुपैयाँको वृद्धि हासिल भएको हो ।

कम्पनीको अन्य आम्दानी करिब ३६ प्रतिशत बढेको भएपनि मुख्य आयस्रोत ग्राहक सेवाबाट हुने आम्दानी ३ प्रतिशतले घटेपछि समग्र खुद नाफा पनि ०.४३ प्रतिशत अथाृत २ करोड ३३ लाख ७१ हजार रुपैयाँ ले घटेको छ । २०७९ चैतसम्म टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधि (२०७८ चैत्र मसान्त) मा खुद मुनाफा ५ अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्ममा टेलिकमको सञ्चालन आय ३.०९ प्रतिशत (८७ करोड २९ लाख ६४ हजार रुपैयाँ) ले कमी आई २७ अर्ब ३४ करोड ६६ लाख ४८ हजार रुपैयाँमा संकुचित बनेको छ । विसं २०७८ चैत्र मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ थियो ।

चालु आव २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार कम्पनीको कार्य सञ्चालन आयमा वृद्धि भएको छ । डेटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डेटातर्फ करिब ७७ करोड ५० लाख २६ हजार रुपैयाँ वृद्धि भएको छ भने अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसार देशीय अन्तर आबद्धता शुल्क (ट्यारिफ) मा कमी आएको र सोसँग सम्बन्धित खर्चमा समेत कमी आएको कारण कम्पनीको मुनाफामा वृद्धि भएको छ ।

यस अवधिमा ब्याजदर परिवर्तन र डलरको भाउमा देखिएको उतार–चढावले टेलिकमको गैर कार्य सञ्चालन आयमा समेत वृद्धि भएको छ । बैंक ब्याजदरमा भएको वृद्धिले मुद्दती निक्षेपबाट कम्पनीले १ अर्ब ५५ करोड ४८ लाख बढी अर्थात ५ अर्ब ८६ करोड १९ लाख १८ हजार रुपैयाँ वित्तीय आम्दानी गरेको छ । यस्तै विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण टेलिकमलाई वैदेशिक मुद्रा सटहीमा भएको परिवर्तनका कारण ५ करोड ४६ लाख रुपैयाँ धेरै अर्थात १३ करोड ९६ लाख ३६ हजार रुपैयाँ नाफा गरेको छ ।

समीक्षा अवधिमा टेलिमकको केही सेवाहरुको आम्दानीमा पनि कमी आएको छ । अन्तर आबद्धता सम्वन्धी निर्देशिका अनुसार देशीय अन्तरआवद्धता शुल्कमा कमी आएको र ओभर दि टप (ओटिटि) सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब ५७ करोड ५८ लाख रुपैयाँले कमी भएको छ । यस्तै विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुगेका कारण टेलिकमको नाफा घट्न पुगेको हो । आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा असर पर्न गएको टेलिमकले जनाएको छ ।

कम्पनीको लेखा नीति तथा एनएफआरएस बमोजिम गणना गर्दा इम्पेरिमेन्ट चार्जमा गत आवमा भन्दा बढी खर्च भएका कारण कम्पनीको मुनाफा प्रभावित बनेको छ । गत आवको ९ महिनामा ४ करोड ५४ लाख रुपैयाँ रिभर्सल भएकोमा कम्पनीले चालु आवको सोही अवधिमा १२ करोड नोक्सानी व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।