क्यूआर भुक्तानीमा विद्यार्थीदेखि गृहणीसम्म आकर्षण, मलदेखि माछा बजारसम्म विस्तार

0
Shares

बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत श्रद्धा थापाले पर्समा नगद बोकेर नहिँडेको दुई वर्ष भयो । नगद बोकेर हिँड्ने उनीसँग आजकाल मोबाइल फोन र एटीएम कार्ड हुन्छ । कलेजको क्यान्टिनमा खाजा खाँदा होस् या तरकारी बजारमा किनमेल गर्न मोबाइलबाट विद्युतीय भुक्तानी मार्फत पैसा तिर्छिन् उनी ।

पछिल्ला दिनहरुमा इन्टरनेट तथा प्रविधिको पहुँच विस्तार तीव्र गतिमा हुँदै आइरहेको छ जसकारण चमेनागृहदेखि तरकारी पसलसम्म क्युआर स्क्यानबाटै भुक्तानी गर्ने सुविधा उपलब्ध छन् । श्रद्धाको खाता भएको बैंकको मोबाइल एपमा क्यूआर स्क्यानको सुविधा छ, पसलमा सामान खरिद गर्छिन्, वल्र्डलिङ्कको फ्रि इन्टरनेट कनेक्ट गर्छिन् र क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्छिन् । उनी भन्छिन्, ‘न पैसा हराउला भन्ने डर, न त अनावश्यक खर्च गरिएला भन्ने चिन्ता । मेरो त आजकल पर्स नै मोबाइल फोन भएको छ ।’

श्रद्धा मात्रै होइन आजभोलि वालेट नै मोबाइल फोन बनाउने मानिसहरुको सङ्ख्या बढ्दो जान थालेको छ । काठमाडौँ महानगर पालिकाले सडक व्यापार व्यवस्थित गरी नयाँ ठाउँमा सडक व्यापारीहरुलाई सारेको छ । पहिले अस्तव्यस्त देखिने पसलहरु व्यवस्थित भएका छन् भने पसलेहरुले विद्युतीय माध्यम मार्फत भुक्तानी गर्न चाहने ग्राहकहरुका लागि क्यूआरको व्यवस्था समेत गरेका छन् । उमेरले ५० कटेकी शारदा खनाल सामान्य लेखपढ गर्न जान्ने गृहणी हुन् । एक धार्नी आलु, एक किलो प्याज, एक पाउ खुर्सानी, एक पाउ कटहर खरिद गर्दे उनले पनि क्यूआर मार्फत भुक्तानी गरिन् ।

शारदाले भुक्तानीका लागि सहज होस् भनेर नेपाल टेलिकमबाट मासिक रुपमा खरिद गर्न मिल्ने फोरजी डेटा प्याक लिएकी रहिछन्, उनले आफू सधै घर व्यवहारमा आवश्यक पर्ने दैनिक किनमेलका लागि सधैँ क्यूआर मार्फत भुक्तानी गर्ने बताइन् र २५० रुपैयाँ स्क्यान गरेर पसलेको बैंक खातामा रकम पठाइन् । उमेरले पाको देखिएपनि क्यूआर स्क्यानबाट भुक्तानी गरेपछि तरकारी पसलले पनि आश्चर्यमा परे । तत्कालै पसलेले उनलाई कसरी सिक्नु भयो भनेर सोधिहाले । उनले भनिन्, “छोरी बैंकमा जागिरे छिन्, दिनदिनै उनलाई यो सामान लिएर आऊ, त्यो सामान लिएर आऊ भन्यो सधैँ केही न केही बिर्सिने, मैले पैसा लिएर हिँड्यो, चाहिने भन्दा बढी सामानहरु लिएर आउँथेँ, छोरीले मेरो बैंकको मोबाइल एप डाउनलोड गरिदिइन् अनि यसरी पैसा तिर्न मिल्छ भनेर सिकाइन्, त्यसपछि एकदिन दुईदिन गर्दै मैले पनि सिकेँ, अहिले त निकै आनन्द भएको छ ।”

सपिङ्ग मलमा मात्र होइन किराना दोकान, फेन्सी स्टोरहरुदेखि आजकाल तरकारी बजार तथा माछा बजारसम्म क्यूआर भुक्तानीको सेवा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०७७ पुस ११ गते शनिबार नक्साल तरकारी बजारबाट थालनी गरेको क्यूआर भुक्तानी यसरी विस्तार भएको छ कि तपाई जहाँ पुगेपनि खल्तीमा नगद बाकेर हिँड्ने झन्झट आजभोलि मोल्नुपर्दैन । खुद्रा रकम नहुँदा भुक्तानीमा आइपर्ने समस्या समेत मोबाइलबाट नै भुक्तानी गर्न सकिने भएपछि ब्यापारीदेखि ग्राहकसम्म सबैलाई सहज भएको हो ।

कागजी नोट बोक्नुनपर्ने तथा भुक्तानीको सहज प्रणालीको रुपमा क्यूआर विकास भएका कारण तथा वर्तमान अवस्थामा प्रत्येक साना ठूला पसलहरु तथा ठूला डिपार्टमेन्ट स्टोरहरुमा समेच क्यूआर मार्फत भुक्तानी लिनका लागि क्यूआर स्क्यान पसलहरुमा राखिएको हुन्छ । नयाँ बानेश्वरमा मोबाइल पसल सञ्चालन गर्दै आएका कमल केसी भन्छन्, “मानिसहरुले आजकाल नगदमा कारोबार गर्न नै रुचाउँदैनन् । जुनसुकै ग्राहक आएपनि तपाईकोमा क्यूआर स्क्यान छैन भनेर सोध्छन् । उनीहरु नगद बोक्नभन्दा विद्युतीय भुक्तानी गर्न खोज्छन् । यसले उधारोमा हुने कारोबार पनि कम हुँदै गएको छ ।” नेपाल पे क्यूआरको स्क्यानको सुविधा राखेपछि पसलमा हुने नगद जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता समेत अन्त्य भएको उनको अनुभव छ ।

माथि उल्लेख गरिएका शारदा र श्रद्धा र कमल सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्ने केही पात्र मात्रै हुन् । अहिले धेरै मानिसहरुले खल्तीमा नगद बोकेर हिँड्न छाडिसकेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षमा नै कागजी नोटको प्रयोग ७ अर्ब ८२ करोड रुपैयाँले घटेको छ । २०७८ चैतसम्म ६ खर्ब १९ अर्ब ६० करोड कागजी नोटको प्रयोग भएकोमा चालु अवको ९ महिना अवधिमा कागजी नोटको प्रयोग घटेर ६ खर्ब ११ अर्ब ७८ करोड रुपैयाँ बराबरमा झरेको तथ्याङ्कमा देखिन्छ ।

सहरी भेगमा इन्टरनेट, स्मार्टफोन तथा मोबाइल बैंकिङ सम्बन्धी सेवा सुविधा सहजै उपलब्ध भएका कारण विद्युतीय भुक्तानी त्यसमा पनि क्यूआरको प्रयोग उच्च रुपमा बढ्दै जान थालेको छ । तथापी बैंक तथा वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रमा समेत इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङबारे जनचेतना कार्यक्रम गर्नुले ग्रामीण भेगका मानिसहरुले समेत विद्युतीय भुक्तानी सुरु गरेका छन् ।

साथै कतिपय बैंक तथा वित्तीय संस्थाहरुले नेपाल टेलिकम तथा एनसेल जस्ता दूरसञ्चार कम्पनीहरुको सहकार्यमा ग्राहकहरुलाई निशुल्क रुपमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्नसक्ने सुविधा दिएका छन् । यसले पनि विद्युतीय भुक्तानीलाई थप बढावा दिएको छ ।  विभिन्न ठाउँमा इन्टरनेट पहुँच बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरुले पनि ग्राहकहरुलाई विद्युतीय माध्यम भुक्तानीमा प्रोत्साहित गर्न थालेपछि कारोबार बढ्दै जान थालेको हो । छिटो तथा झन्झट रहित भुक्तानी माध्यमका कारण अधिकांश मानिसहरुले कारोबार गर्दा क्यूआरको प्रयोग बढाउँदै गएका छन्।

नेपाल राष्ट्र बैंकले समेत विद्युतीय भुक्तानीलाई विशेष जोड दिँदै आएको छ । सोही अनुसार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । सोही योजना अनुरुप विद्युतीय भुक्तानी कारोवार वृद्धि गर्नका लागि आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिनेगरी केन्द्रीय बैंकले कार्य गर्दै आइरहेको छ । चालु आर्थिक वर्ष यद्यपी चालु आवभित्रै विद्युतीय भुक्तानीका उपकरणहरुबीच अन्तर आबद्धता कायम गर्दै नेपालभित्र हुने भुक्तानी कारोबारहरुको राफसाफ तथा अभिलेखीकरण गर्न राष्ट्रिय भुक्तानी स्वीच स्थापनाको कार्य सम्पन्न भएको छ । तर नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याउन समेत जनाएपनि सो कार्य भने हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा विद्युतीय भुक्तानी माध्यम अन्तर्गतको क्यूआर मार्फत गरिने भुक्तानीको सङ्ख्या ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको चैत महिनासम्म क्यूआर मार्फत ७६ लाख ४४ हजार सङ्ख्याबाट २२ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ । गत आर्थिक वर्षको चैत महिनासम्ममा क्युआर मार्फत २६ लाख २३ हजार सङ्ख्याबाट ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा नै क्य्आर मार्फत हुने कारोबार १३ अर्ब ९५ करोडले बढेको छ । जुन गत आवको चैत महिनाको तुलनामा २.५६ गुणाले बढी हो ।

हाल नेपालमा नेपाल पे र फोन पे गरी दुई कम्पनीहरुले क्यूआर सुविधा प्रदान गर्दै आएका छन् । पछिल्लो समय सञ्चालनमा आएको नेपाल पे क्यूआरबाट मात्रै चालु आर्थिक वर्षको चैत महिनासम्म ५२ करोड ६० लाख रुपैयाँको कारोबार भएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को तथ्याङ्क छ ।

स्थापनाको छोटो समयमै ‘नेपाल पे’ को सशक्त उपस्थिति

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) द्धारा सञ्चालित ‘नेपाल पे क्यूआर’ ले स्थापनाको छोटो समयमा नै आफूलाई सशक्त रुपमा स्थापित गरेको छ । स्थापनाको छोटो समयमा नै नेपाल पे क्यूआरमा साढे दुई लाख बढी मर्चेन्ट आवद्ध भैसकेका छन् ।

चालु आर्थिक वर्षको चैत महिनासम्म नेपाल पे क्यूआरबाट ५२ करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ । गत आर्थिक वर्षमा ३ करोड ६४ लाख रुपैयाँ मात्रै कारोबार भएकोमा चालु आर्थिक वर्षको ९ महिनामा नै नेपाल पे क्यूआर मार्फत हुने कारोबार १४.४५ गुणाले बढेको हो ।

पछिल्लो एक वर्षमा क्युआरबाट भएको कारोबार २.५६ गुणाले वृद्धि हुँदा नेपाल पे क्यूआर मार्फत भएको कारोबार १४.४५ गुणाले बढेको हो । विसं २०७८ को फागुन महिनाबाट सञ्चालनमा आएको नेपाल पे क्यूआरको हिस्सा कुल क्युआर कारोबारमा २.३० प्रतिशत छ ।

सरकारी लगानीले थप विश्वसनीय

नेपाल पे क्युआर नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) द्धारा सञ्चालित छ । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ९० प्रतिशत लगानी रहेको छ ।

नियामक निकाय तथा सर्वसाधारणको समेत लगानी रहेको बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेका कारण निजी क्षेत्रबाट सञ्चालनमा आएको फोनपे क्यूआरको तुलनामा नेपाल पे क्यूआरप्रति सर्वसाधारणको विश्वास उच्च रहेको छ ।

हाल नेपाल पे क्यूआर सेवा बाह्र वाणिज्य बैंकहरु एनएमबि बैंक, स्ट्याण्डर्ड च्यार्टर्ड बैंक नेपाल, कृषि विकास बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सनराइज बैंक, एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा उपलब्ध छ ।  

यसका साथै गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, आईसिएफसि फाइनान्स कम्पनी, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्सको मोबाइल एप मार्फत पनि नेपाल क्यूआरबाट भुक्तानी गर्न सकिन्छ । यस्तै कनेक्ट आईपीएस, मोरु डिजिटल वालेट, मोको डिजिटल वालेट, सेल पे एप प्रयोगकर्ताहरुले समेत नेपाल पे क्यूआर प्रयोग गर्न सक्छन् । नेपाल पे क्यूआर मार्फत मर्चेन्टहरुले स्टाटिक तथा डाइनामिक क्यूआर प्रयोग गर्न सक्छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।