प्रभु हेलिकप्टरको आम्दानी ८२% ले बढ्यो, झण्डै २३ करोडको कारोबार

0
Shares

व्यापारिक घराना प्रभु ग्रुपको लगानी रहेको प्रभु हेलिकप्टर प्रालिले सन् २०२२ मा २२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

सन् २०२१ मा १२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा ८२.४ प्रतिशतले बढेको हो । कम्पनीको आम्दानी बढेसँगै अन्य वित्तीय सूचांक सकरात्मक देखिएका छन् ।

सन् २०२१ मा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा ऋणात्मक थियो । तर सन् २०२२ मा उक्त नाफा बढेर कुल सञ्चालन आम्दानीको २५.७१ प्रतिशत पुगेको हो ।

सन् २०१५ मा प्रभु ग्रुपले मुक्तिनाथ एयरलाइन्स खरिद गरी प्रभु हेलिकप्टर प्रालि नामाकरण गरेको थियो । प्रभु हेलिकप्टर प्रालि एक हेलिकप्टर सञ्चालक कम्पनी हो जसले नेपालमा आकास्मिक तथा मनोरन्जन प्रयोजनका लागि हेलिकप्टरको सेवा उपलब्ध गराउँदै आएको छ । विशेषतः कमपनीले पर्वतीय उडान, उद्धार, धार्मिक क्षेत्रमा उडान गरिरहेको छ ।

हाल कम्पनीसँग दुई वटा हेलिकप्टर रहेका छन् । कम्पनीले एयरबस हेलिकप्टर खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । एयरबस हेलिकप्टर खरिद गर्दा कम्पनीका ग्राहक बढ्ने र अन्ततः कम्पनीको आम्दानी बढ्ने देखिन्छ ।

कम्पनीमा प्रभु ग्रुपको लगानी रहेको छ । कम्पनीका अध्यक्ष देवी प्रकाश भट्टाचन रहेका छन् भने सुवास अमात्य प्रबन्ध निर्देशक रहेका छन् ।

कम्पनीले ६४ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले ५२ करोड ९६ लाख ३० हजार बराबरको दीर्घकालीन कर्जाका लागि बी रेटिङ गरेको छ । यस्तै ११ करोड ३ लाख ७० हजार बराबरको अल्पकालनि कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ०.७ गुणा रहेको छ । तथापि बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव लिएका मानिसहरु प्रमोटर हुँदा कम्पनीलाई वित्तीय सहजता मिलेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।