टिफा बैठक: अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

0
Shares

नेपाल-संयुक्तराज्य अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापारिक र लगानी काउन्सिलको छैटौँ बैठक काठमाडौँमा बसेको छ।
 
बैठकमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने विषय महत्वका साथ उठाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।
“धेरैभन्दा अमेरिकी लगानी भित्र्याउने र नेपालमा उत्पादित वस्तु अमेरिकी बजारमा सहजरुपमा पठाउनका लागि वातावरण बनाउने विषय  बैठकका मुख्य एजेन्डा हुन्”, सचिव मरासिनीले भने, “हाम्रा सम्भावना र समस्या के छन् भनेर प्रत्यक्षरुपमा छलफल भएको छ । हामीले बढीभन्दा बढी सीप र प्रविधि हस्तान्तरण होस् भन्ने चाहेका छौँ ।”
नेपालले उदार अर्थतन्त्र अँगालेको, लगानीको वातावरण बन्दै गएको र अहिले वैदेशिक लगानीको खाँचोसमेत रहेकाले नेपालमा लगानी गर्न अमेरिकी पक्षलाई बैठकमार्फत आग्रह गरेको मरासिनीले बताए । नेपालमा सूचना प्रविधि, जलविद्युत्, सेवालगायतका क्षेत्रमा लगानी गरेर द्विपक्षीय लाभ लिन अमेरिकालाई आग्रह गरेको उनको भनाइ छ ।
     
“कुन–कुन क्षेत्रमा लगानीको सम्भावना छ भनेर जानकारी गराएका छौँ । निकासीका वस्तु के हुन सक्छन् ? र तिनमा नेपालले अमेरिकाबाट कस्तो सुविधा चाहन्छ भन्नेकुरा बैठकमार्फत राखिएको छ । लगानी र व्यापारमा सहजताका लागि के–कस्ता नीतिगत सुधार आवश्यक छन् भन्ने विषयमा पनि छलफल भएको छ”, उनले भने। द्विपक्षीय सहयोगका नयाँ आयाम पहिचान गर्नका लागि यो बैठक महत्वपूर्ण रहेको सचिव मरासिनीको भनाइ छ।
     
नेपाल सन् २०२६ पछि अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा गुमाउने व्यापारसम्बन्धी ‘ड्युटी फ्री’ र ‘कोटा फ्री’जस्ता सुविधाको निरन्तरताका लागि पनि बैठकमा छलफल भएको जनाइएको छ । त्यस्तै दुई देशको व्यापार, लगानी, बजार पहुँच, रोजगारी, बौद्धिक सम्पत्ति, विद्युतीय कारोबार, व्यापार सहुलियतलगायतका विषयमा बैठक केन्द्रित भएको जनाइएको छ ।
     
नेपाल र अमेरिकाबीचको सम्बन्धलाई वैदेशिक सहायताका पक्षबाट लगानी र व्यापारिक साझेदारीमा रुपान्तरण गर्नका लागि सन् २०११ मा टिफा सम्झौता भएको थियो । कोभिड महामारीका कारण टीफा काउन्सिलको बैठक सन् २०२० मा भर्चुअल माध्यामबाट भएको थियो । अहिलेको बैठकमा अमेरिकाबाट १८ जनाको डेलिगेसन टोली आएको जनाइएको छ । रासस
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।