पुँजी बजारमा गैर आवसीय नेपालीहरुका लागि लगानी खुला गरिने, बीमाको विस्तार देशभर गर्ने लक्ष्य

0
Shares

सरकारले पुँजी बजारमा गैर आवसीय नेपालीहरुका लागि लगानी खुला गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बताएका हुन् ।

यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रका आयोजनाहरुको प्राथमिक सेयर (आईपीओ) मा लगानी गर्न प्ररित गरिनेछ । गैर आवासीय नेपालीहरुको ज्ञान, सीप, पुँजी र प्रविधि सञ्जाल र पहुँचलाई देशको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

यस्तै उनले देशभर बीमाको विस्तार गरिने पनि बताए । न्यून आय हुने वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गराउन सहजीकरण गर्ने नीति रहेको छ । यस्तै आव २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सामाजिक र आर्थिक रुपान्तरण सोच सहितको दीर्घकालीन एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ढाँचामा १६ औं आवधिक योजना तर्जुमा गरिने बताए ।

साथै सरकारले दीगो विकासको लक्ष्य हासिल गर्नेगरी सबै विषयगत र क्षेत्रगत नीति तथा कार्यक्रमबीच अन्तरसम्बन्धता कायम गर्ने, दीगो विकास लक्ष्यलाई सबै तहमा अन्तरिकीकरण र स्थानीयकरण गर्ने, अल्पविकसित मुलुकबाट स्तरोन्नती भएपछिप्राप्त हुने अवसरको उपयोग र चुनौतिको सम्बोधन गर्न रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्तर्राष्ट्रिय विकास सहायता परिचालनलाई राष्ट्रिय गौरवका रुपान्तरणकारी र विकासका उच्च प्राथमिकता प्राप्त आयोजनामा केन्द्रीत गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुनेगरी उपयोग गर्न ऋणको आयोजनागत विनियोजन गरिने पनि उनले बताए । वैदेशिक लगानी आकर्षणका लागि ग्रीन बन्ड, पुर्वाधार बन्ड, र अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण परिचालन गरिने पनि राष्टपति पाैडेलले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।