राष्ट्रिय बीमा संस्थानले हकप्रद बिक्री गरेर पुँजी जुटाउने

0
Shares

राष्ट्रिय बीमा संस्थानले हकप्रद बिक्री गरेर पुँजी जुटाउने प्रस्ताव राखेर जेठ २२ गते विशेष साधारण सभा गर्ने भएको छ ।

उक्त सभा संस्थानको प्रधान कार्यालयमा दिउँसो ४ बजे गर्ने कम्पनीले जनाएको छ । संस्थानको जेठ २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकबाट हकप्रद मार्फत पूँजी जुटाउने विषयलाई पारित गर्नेछ । नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति ) को २०७८ साल चैत ११ गतेको निर्देशन बमोजिम संस्थानले तयार गरेको पूँजी योजना अध्ययन प्रतिवेदन २०७९ अनुसार संस्थानले संस्थापकहरूबाट हकप्रद सेयर बिक्री गरेर पूँजी जुटाउन लागेको हो ।

सभाले आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षक सी ए राजकुमार शिवाकोटीलाई नियुक्तका लागि परामर्श प्राप्त भएकाले उक्त आर्थिक वर्षको लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक तय गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

हाल संस्थानको चुक्तापूँजी १८ करोड १० लाख २० हजार रहेको छ । नेपाल बीमा प्राधिकरणको हालको व्यवस्था अनुसार यस कम्पनीलाई ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ ।

संस्थानमा हाल नेपाल सरकारको २७.७८ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत शेयर स्वामित्व रहेको छ।

संस्थानले संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेगरी पूँजी वृद्धिको योजना अघि सारेको छ ।

नयाँ बीमा ऐन २०७९ लागू भएपनि सरकारी स्वामित्वको संस्थान परिणत गर्नुपर्नेछ । सोही व्यवस्थान अनुसार संस्थानले संस्थापकलाई पूँजी थप्न लगाएर सर्वसाधारणलाई आईपीओ निष्काशन गर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।