‘सेफ्टी’ प्याड उत्पादक ज्यास्मीन हाइजीन प्रोडक्टको वार्षिक आम्दानी ५० करोड धेरै

0
Shares

नेपालमा महिलाहरुले प्रयोग गर्ने ‘सेफ्टी’ ब्रान्डको सेनेटरी प्याड उत्पादन गर्दै आएको ज्यास्मीन हाइजीन प्रोडक्ट्स प्रालिले सन् २०२२ मा ५० करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ११.९१ प्रतिशत रहेको छ । यस्तै कम्पनीले लिने ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको १.३६ गुणा रहेको छ ।

सन् २००४ मा पार्टनरसीप फर्मको रुपमा स्थापना भएको कम्पनी सन् २०२१ मा शारडा ग्रुपले स्वामित्व लिई सञ्चालन गरिरहेको छ । कम्पनीले सेफ्टी ब्रान्डको प्याड र कडल्र्स ब्रान्डको बच्चाहरुले प्रयोग गर्ने डायपर उत्पादन गर्दै आएको छ । वार्षिक रुपमा कम्पनीको उत्पादन क्षमता ५ करोड थान प्याड ४ करोड ५० लाख थान डायपर र ६ करोड थान मास्क बराबर रहेको छ ।

नेपालमा विदेशी ब्रान्डका प्याड सस्तो तथा सर्वसुलभ मूल्यमा उपलब्ध हुँदा नेपाली ब्रान्डका प्याडहरुको प्रयोगमा कमी हुँदै गएको छ । तथापि सरकारले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन सरकारी स्कुल तथा सरकारी कलेज, कार्यालयहरुमा नेपालमा नै निर्माण भएका प्याडहरुको प्रयोग बढाएको छ ।

विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसक्नु नै नेपाली प्याड उत्पादक कम्पनीहरुको कमजोरी रहेको छ । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डका प्याडहरु बढी उपलब्ध हुँदा स्वदेशी कम्पनीहरुले बजार लिन सकेका छैनन् ।

तथापि कम्पनीमा व्यापारिक घराना शारडा ग्रुपको लगानी रहेको छ । उत्पादनको क्षेत्रमा १८ वर्षभन्दा लामो अनुभव भएका पुनित शारडा कम्पनीका प्रबन्ध निर्देशक रहेका छन् । अनुभवी प्रमोटर भएका कारण कम्पनीलाई वित्तीय तथा प्राविधिक सहयोग मिलेको छ ।

कम्पनीले ६२ करोड ९० लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । २ करोड ६४ लाख २० हजार रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि केयर नेपालले कम्पनीलाई डबल बी माइनस र ६० करोड २५ लाख ८० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।