सागर फिड्स प्रालिको कारोबार कोभिडपछि बढ्यो, वार्षिक साढे १ अर्ब

0
Shares

सागर फिड्स प्रालिको आम्दानी आकर्षक रुपमा बढेको छ । सन् २०२२ मा कोभिड संक्रमण कम हुँदै गएपछि फिड्सको आम्दानीमा उत्साहजनक वृद्धि देखिएको हो ।

कोभिडको समयमा अर्थात् सन् २०२० मा ९२ करोड १० लाख सञ्चालन आम्दानी गरेको उद्योगले सन् २०२१ मा १ अर्ब ३ करोड ४० लाख तथा सन् २०२२ मा १ अर्ब ३९ करोड १० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा २०२२ मा उद्योगको आम्दानी ३४.५० प्रतिशतले बढेको हो ।

सञ्चालन आम्दानीमा वृद्धि भएता पनि कम्पनीको अन्य वित्तीय सूचांकमा सुधार आएको छैन । सन् २०२१ मा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर सहितको नाफा कम्पनीको सञ्चालन आम्दानीको १२.५० प्रतिशत थियो भने सन् २०२२ मा ३.४० प्रतिशत बिन्दुले घटेर ९.१० प्रतिशत पुगेको छ ।

सन् २००९ मा स्थापना भएको कम्पनीले कुखुराको दाना, बंगुरको दाना लगायत बाख्रा, भैंसी, गाईका लागि दाना उत्पादन गर्दै आएको छ । कम्पनीले पल्ट्री दाना कुखुराको प्रजातिका आधारमा जस्तै ब्रोइलर, लेयर र गिरिराजका लागि भिन्न भिन्न दानाको उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषतः नेपालको पूर्वी जिल्लाहरुमा दानाको बिक्री वितरण गर्दै आएको छ ।

उद्योगका गतिविधि चालु पुँजी खर्चमा निर्भर रहेको र उद्योगको अप्रेटिङ चक्रमा गिरावट आएका कारण उद्योगको आम्दानी प्रभावित हुन पुगेको छ । उद्योगले कच्चा पदार्थको आयात गरी दाना उत्पादन गर्दै आएको छ । कच्चा पदार्थको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँ कमजोर रहेका कारण कम्पनीको कारोबार बढेता पनि नाफा बढेको छैन ।

यस्तै नेपालमा विभिन्न समयमा बर्डफ्लू र स्वाइन फ्लूको प्रकोप बढ्दा कम्पनीको कारोबार प्रभावित हुने गरेको छ । तथापि उद्योगको व्यवस्थापन समितिमा पोल्ट्री क्षेत्रमा लामो समय काम गरेका ज्ञानेन्द्र पराजुली, लक्ष्मण हुँमागाईं र शारदा शर्मा चौलागाईं रहेका छन् । कम्पनीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र पराजुली हुन् ।

उद्योगले ६९ करोड ५८ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले १० करोड ५५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ५९ करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ‘ए–४ रेटिङ’ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.९० गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।