एमसिसि कार्यान्वयन मिति नजिकिएसँगै क्षेत्रीय उपाध्यक्षले भेटे अर्थमन्त्री

0
Shares

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) सम्झौता कार्यान्वयनमा जाने मिति नजिकिएसँगै एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री महतसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको हो । एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाबारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो ।

भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गरे । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षवीच विस्तृत छलफल भयो ।

सो अवसरमा, अर्थमन्त्री महतले यो आयोजना पूर्वनिर्धारित समयावधि भित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरे । साथै उनले आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री महतले एमसिसि आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसिसिका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद व्यक्त गरेृका थिए ।

भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।