सरकारको कूल सार्वजनिक ऋण साढे २१ खर्ब, वैशाखमा लियो पौने ४८ अर्ब

0
Shares

चालु आर्थिक वर्षको दश महिना अर्थात वैशाख मसान्तसम्ममा सरकारको कूल सार्वजनिक ऋण साढे २१ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको दश महिनाको अवधिमा सरकारको कुल सार्वजनिक ऋण २ खर्ब ३० अर्ब २४ करोड थपिएको छ । गत वैशाखमा मात्र सरकारले ४७ अर्ब ८६ करोड ऋण उठाएको छ ।

अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म नेपालको कूल सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। कार्यालयका गत वैशाखमसान्तसम्म सरकारले १० खर्ब ८३ अर्ब ४७ करोड आन्तरिक ऋण तथा १० खर्ब ७० अर्ब ६४ करोड बाह्य ऋण लिएको छ ।

चालु आर्थिक वर्षको दश महिना अर्थात साउनदेखि वैशाखमसान्तसम्म सरकारले २ खर्ब ३० अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ । जसमध्ये १ खर्ब ५९ करोड ५० लाख आन्तरिक तथा ७० अर्ब ७४ करोड बाह्य ऋण लिएको छ । चालु आर्थिक वर्ष सुरु हुनु अगाडि अर्थात् असार २०७९ मा कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

पछिल्लो १० महिनामा सरकारको खुद सार्वजनिक ऋण भने १ खर्ब ४० अर्ब ८२ करोड ७५ लाख रुपैयाँले वृद्धि भएको छ। पछिल्लो दश महिनामा सरकारले ८९ अर्ब ४१ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।

यसअवधिमा सरकारले आन्तरिक ऋणको ६३ अर्ब ४७ करोड र बाह्य ऋणको २५ अर्ब ९४ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ भने यसअवधिमा ४६ अर्ब ८५ करोड आन्तरिक ऋणको ब्याज तथा ७ अर्ब ५ करोड बाह्य ऋणको ब्याज भुक्तानी गरेको छ ।

नेपालले एक वर्षको अवधिमा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको थियो। यस्तै चालु आर्थिक वर्षभित्र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै सरकारले ४७ अर्ब ८६ करोड सार्वजनिक ऋण लिएको छ । जसमध्ये ४७ अर्ब ५० करोड आन्तरिक तथा ३६ करोड ८० लाख बाह्य ऋण लिएको छ।

वैशाख महिनामा नै सरकारले १२ अर्ब ७८ करोड रुपैयाँ विगतमा लिएको ऋणको साँवा फिर्ता, ब्याज तथा कमिशन बुझाएको छ। वैशाखमा मात्रै आन्तरिक ऋण ७ अर्ब ७७ करोड रूपैयाँ भुक्तानी गरेकोमा ६ अर्ब ७७ करोड ब्याज तिरेको छ ।

त्यस्तै, ९६ करोड साँवा फिर्ता गरेर ४ करोड ४४ लाख रूपैयाँ कमिशन बुझाइएको छ। सरकारले बाह्य ऋणतर्फ वैशाख महिनामा ४ अर्ब २३ करोड साँवा फिर्ता र ७७ करोड रूपैयाँ ब्याज भुक्तानी गरिएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।