दश महिनामा भएको कुल निर्यात रकम डिजेल आयातमा नै ठिक्क

0
Shares

चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाख महिनासम्म नेपालले अन्य देशमा बिक्री गरे वापत प्राप्त भएको रकम नेपालले उपयोग गर्ने पेट्रोलियम पदार्थभित्रको एक डिजेल आयातमा नै ठिक्क भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि बैशाखसम्मको अवधिमा नेपालले १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर नेपालबाट भएको निर्यात र डिजेल आयात लगभग उत्तिकै मात्रामा देखिएको छ । कुल पेट्रोलियम पदार्थको आयातमा डिजेलको हिस्सा आधा बढी अर्थात ५०.२० प्रतिशत छ ।

निर्यात बराबरको रकमले नेपालमा डिजेल र पेट्रोल पनि आयात हुने देखिँदैन । दश महिनाको अवधिमा १ खर्ब २५ अर्ब ३६ करोड ३९ लाख ३९ हजार बराबरको डिजेल आयात भएको छ । यस हिसाबले डिजेल आयातको तुलनामा कुल निर्यात करिब ५ अर्ब ५४ कारोड रुपैयाँ मात्र बढी छ । यस्तै यस अवधिमा ५५ अर्ब ७९ करोड २५ लाख रुपैयाँको पेट्रोल र ४९ अर्ब ७२ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको एलपी ग्याँस आयात भएको छ । बैशाखसम्म कुल २ खर्ब ४९ अर्ब ७३ करोड १४ लाख ११ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

दश महिनाको अवधिमा वस्तु आयातमा कूल १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख ६२ हजार रुपैयाँ बाहिरिएको छ । डिजेल, पेट्रोल पछि फलाम र त्यससँग सम्बन्धित उत्पादनको आयात बापत ३४ अर्ब ८१ करोड ९३ लाख ६३ हजार रुपैयाँ बाहिरिएको छ ।

यद्यपी गत आर्थिक वर्षको दश महिनासम्मको तुलनामा समग्र आयातमा भने कमी आएको छ । गत आवको सोही महिनासम्म १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यो तथ्यांकले १६.७८ प्रतिशत आयात घटेको देखाउँछ । आयात घटे पनि निर्यात विस्तार हुन नसक्दा व्यापार घाटा कायमै छ ।

चालु आर्थिक वर्षको दश महिना अर्थात साउनदेखि बैशाखसम्ममा मुलुकको कूल व्यापार घाटा १४ खर्ब ६६ अर्ब २२ करोड २५ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १७ खर्ब ७८ अर्ब रुपैयाँको कुल वैदेशिक ब्यापार भएको थियो । कुल वैदेशिक ब्यापारमा १७.५४ प्रतिशतको गिरावट आएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्ममा मुलुकको कूल व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १५.८५ प्रतिशतले घटेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।