युनाइटेड– अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, कस्तो बन्यो कम्पनी ?

0
Shares

युनाइटेड र अजोड इन्स्योरेन्सले आज अर्थात जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । ‘युनाइटेड अजोड इन्स्योरेन्स’ लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनीले गत चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल (एसके रावल) लाई नियुक्ति भएका छन् ।

हाल युनाइटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रुपैयाँ तथा अजोडको १ अर्ब रुपैयाँ छ । सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अनुसार १०० बराबर ८२.५० को अनुपातमा मर्जर पूरा भएपछि नयाँ कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड रुपैयाँ आवश्यक पर्नेछ । कम्पनीले मर्जर पछि हकप्रद निष्काशन गर्नुपर्ने देखिन्छ ।

यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभिएपछि कम्पनीको केन्द्रीय कार्यालय बागमती प्रदेश काठमाण्डौ महानगरपालिका वडा नम्बर ११, सुन्धारा, काठमाण्डौंमा रहने प्रस्ताव पनि यस अघिको साधारण सभाले अनुमोदन गरिसकेको छ । दुई कम्पनीबीच पुस २६ गते डीडीएको आधारमा स्वाप रेसियो तय हुनेगरी मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता लगत्तै बीमा प्राधिकरणले दुई संस्थालाई मर्जरमा जानका लागि पुस २९ गते सैद्दान्तिक सहमति दिएको थियो ।

यस्तै नेपाल धितोपत्र बोर्डले पनि युनाइटेड र अजोड इन्स्योरेन्सलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियाे । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा अजोड इन्स्योरेन्स लिमिटेडको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको १००ः८२.५० कित्ताको सेयर स्वाप रेसियो कायम गर्ने गरी गाभ्ने–गाभिने प्रस्ताव दुवै कम्पनीको साधारण सभाबाट पारित भएको थियो । जसअनुसार युनाइटेडका सेयरधनीको सेयर स्वामित्व यथावत रहनेछ भने अजोड इन्स्योरेन्सका सेयरधनीले मर्जर पश्चात बन्ने कम्पनीको १०० कित्ता बराबर ८२.५० कित्ता सेयर प्राप्त गर्नेछन् ।

यसअघि २०७९ असार ३२ गते प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स १०० बराबर ७० को अनुपातमा एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । उक्त मर्जर सम्झौतालाई बीमा प्राधिकरणले गत भदौ १ गते नै सैद्दान्तिक सहमति दिएको थियो । तर गत पुस २६ गते एकाएक दुई कम्पनीले सहमतिमा बीमा प्राधिकरण पुगेर मर्जर तोड्ने सम्झौता गरेका थिए । सोही दिन अजोडले यूनाइटेडसँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको थियो ।

व्यवस्थापनको जिम्मेवारी श्रवण रावललाई

नयाँ कम्पनीमा व्यवस्थापनको जिम्मेवारी श्रवण रावलले पाएका छन् । संयुक्त मर्जर समितिले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रावललाई नियुक्त गर्न सिफारिस गरेको छ । एकीकृत कारोबार सुरु भएपछि मात्र रावललाई औपचारिक रुपमा प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्ने तयारी गरिएको छ ।

साविकको प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा आईजिआई प्रुडेन्सियलमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रावललाई कम्पनी व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव गरिएको र सोही अनुसार निणर्य हुने मर्जर समितिका एक सदस्यले जानकारी दिए ।

रावल २०७८ पुस २० गते प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी नियुक्त भएका रावल आईजीसँगको मर्जरपछि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । प्रुडेन्सियल आउनु अघि रावल साविकको सगरमाथा इन्स्योरेन्समा आबद्ध थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।