घोराही सिमेन्टलाई आईपीओ बिक्रीमा दोस्रो धक्का, स्थानीयको सेयर पनि अवितरित

0
Shares

घोराही सिमेन्ट इन्डष्ट्रीजलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न सकस परेको छ । पहिलो चरणमा जारी सेयरमध्ये यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि जारी सबै सेयर नबिकेकोमा स्थानीयमा जारी सेयर पनि अवितरित भएको हो ।

कम्पनीले वैशाख १९ देखि जेठ २ गतेसम्म सेयर जारी गरेकोमा स्थानीयबासिन्दाले उद्योगको आईपीओ महङ्गो भएको भन्दै बहिस्कार नै गरेपछि थप १५ दिन म्याद थपेको थियो । थपिएको १५ दिनमा समेत सिमेन्टको सेयर सबै बिक्री हुन नसकेको हो ।  सिमेन्टसले स्थानीय बासिन्दाका लागि कुल ३ लाख ९७ हजार १९० कित्ता सेयर जारी गरेकोमा ७७ हजार कित्ताका लागि मात्रै आवेदन परेको हो । यो तथ्याङ्क प्रारम्भिक तथ्याङ्क मात्र भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलका मर्चेन्ट बैंकिङ्ग प्रमुख राम प्रसाद भट्टराईले नोटबजारलाई बताए ।

यस हिसाबले कम्पनीले स्थानीयमा जारी सेयरमध्ये ३ लाख २० हजार कित्ता अवितरित भएको हो । आवेदनको माथिको तथ्याङ्क प्रारम्भिक मात्र रहेकाले रुजु गरी रितपुुर्वक नपरेका तथ्याङ्कलाई रद्द गर्दा अन्तिम तथ्याङ्कमा आवेदन अझ घट्नेछ ।

यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि जारी गरिएको सेयर पनि २० प्रतिशत (१ लाख ४८ हजार ३११ कित्ता) बिकेको थिएन । पहिलो चरणमा निकाष्शन गरिएको स्थानीयको सेयर कुल सेयरको ८१ प्रतिशत मात्र बिक्री नभएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि जारी भएको तथा स्थानीय बासिन्दाका लागि सेयर बिक्री नभएसँगै अब घोराही सिमेन्ट इन्डष्ट्रीजले दोस्रो चरणमा सर्वसाधारणमा आम सर्वसाधारणका लागि जारी गर्ने आईपीओ पनि सबै बिक्नेमा संशय पैदा भएको छ । वैदेशिक रोजगारीमा रहेका र स्थानीय बासिन्दातर्फ जारी सेयर कुल ११ लाख ५१ हजार ८५१ मध्ये ४० प्रतिशत बढी अर्थात ४ लाख ६८ हजार ३ कित्ता बढी सेयर बिक्री नभएको हो । अब उक्त अवितरित सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई थप गरेर सार्वजनिक निष्कासनमा आउनेछ ।

घोराही सिमेन्टले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा स्थानीय बासिन्दामा थप ३०० रुपैयाँ र आम सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३३५ रुपैयाँ प्रिमियम थपेर क्रमशः ४०० र ४३५ रुपैयाँ दरमा सेयर बिक्रीमा ल्याएको छ ।

प्रक्षेपितभन्दा एकतिहाईको कारोबारले लगानीकर्तामा संशय

चलेका गन्यमान्य घरानाहरु प्रवद्र्धकहरु रहेको घोराही सिमेन्टसको प्राथमिक सेयरमा आकर्षण नहुनु भनेको कम्पनीको कारोबार नै प्रमुख रहेको छ ।

कम्पनीले विगतका तथ्याङ्कलाई आधार मानेर आम सर्वसाधारणमा अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर सेयर जारी गरेको छ । सामान्यतया एक सय रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि सेयर निष्कासन हुने गर्दछ । कम्पनीको आम्दानीलाई हेरेर प्रिमियम मूल्य थपेर समेत आईपीओ जारी गर्ने सुविधा दिइन्छ । यस्तै सुविधाको उपयोग गर्दै घोराही सिमेन्टले १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो ।

यद्यपी कम्पनीले सेयर जारी गर्न स्वीकृति पाएको मुल्यलाई कम्पनीको कारोबारले भरथेग गर्नसक्ने देखिन्न । चालु आवमा गरिएको प्रक्षेपणको एक तिहाई मात्र कम्पनीले ६ महीनामा कारोबार गरेको छ । कम्पनीले प्रक्षेपितभन्दा एक तिहाई मात्र कारोबार गर्ने तथ्याङ्क उसैले प्रकाशन गरेको विवरणमा देखिएको छ ।

घोराही सिमेन्टलाई आईपीओ बिक्रीमा धक्का, पहिलो चरणमै बिकेन

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको ६ महिना अर्थात २०७९ पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ अर्ब ८३ करोड २४ लाख रुपैयाँको मात्र कारोबार गरेको छ । जुन चालु आवमा लिइएको कारोबारको १८.५२ प्रतिशत मात्र हो । कम्पनीले चालु आर्थिक वर्षमा ९ अर्ब ८९ करोड २८ लाख रुपैयाँको कारोबार गर्ने प्रक्षेपण गरेको छ । ६ महीनाको कारोबारका आधारमा कम्पनीले लक्ष्यको ३६ प्रतिशत हाराहारीको कारोबार मात्र गर्नसक्ने देखिन्छ । अघिल्लो आवको ६ महिनाको औसतभन्दा कारोबारभन्दा २४ प्रतिशत अर्थात ५७ करोड रुपैयाँ कम कारोबार चालु आवको ६ महिनामा भएको छ ।

अनुसार कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरण कम्पनीले ६ महिनामा कम्पनीले बिक्री आयकको ७३ प्रतिशत अर्थात १ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बिक्री लागतमा खर्च भएको छ । यस्तै समीक्षा अवधिमा २४ करोड ब्याज भुक्तानी, साढे १३ करोड ह्रास तथा कट्टी खर्च र १० करोड प्रशासनिक खर्च पश्चात कम्पनीको ६ महिनाको खुद नाफा १ करोड ५८ लाख २३ हजार रुपैयाँमा खुम्चिएको छ । कारोबार र नाफामा संकुचन आएसँगै कम्पनीले वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा प्रक्षेपण गरेकोमा ५० पैसामा मात्र कायम भएको छ । यसरी वार्षिक १ रुपैयाँ प्रतिसेयर आम्दानी भएको कम्पनीको सेयर खरिदका लागि ३३५ रुपैयाँ प्रिमियम थप्नु जायज देखिन्न ।

सिमेन्टले आईपीओ बिक्रीका लागि जारी गरेको आह्वानपत्रमा उल्लेख गरिएको विवरणमा प्रक्षेपित विवरणको तुलनामा उद्योगले हासिल गरेको उपलब्धी ज्यादै न्यून देखिएपछि लगानीकर्ताहरु आईपीओ खरिद गर्न पछि हटेका हुन् ।  अर्कोतर्फ दीर्घकालीन प्रकृतिको ऋण नभएको र चालु आवको तेस्रो त्रैमासमा १० रुपैयाँ वार्षिक प्रतिसेयर आम्दानी भएको अर्को सिमेन्टस कम्पनीको सेयर मूल्य साढे चार सय रहेको छ । यस्तो आवस्थामा ६ महिनामा ५० पैसा वार्षिक प्रतिसेयर आम्दानी भएको घोराही सिमेन्टको आईपीओलाई ४३५ रुपैयाँ लगानी गर्नु उच्च जोखिम हुने सेयर बजार क्षेत्रका जानकार बताउँछन् ।

कम्पनीको कारोबार र आम्दानीमा अस्वभाविक गिरावट देखिएपछि स्थानीय मासिन्दाका लागि सेयर ८१ प्रतिशत तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको सेयर खरिदका लागि चासो नदिँदा कम्पनीले जारी गरेको २० प्रतिशत सेयर अवितरित भएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा रहेकाहरुबाट १५ हजारदेखि २० हजारको बीचमा आवेदन पर्ने गरेको थियो । तर घोराही सिमेन्टसको हकमा १२ हजार हाराहारीमा मात्र आवेदन परेको थियो । आवदन गर्नेले समेत थोरै माग गरेपछि पुँजी भएकाहरुले नै आवेदन दिएनन् ।

निर्माण क्षेत्रमा छाएको सुस्तता अर्को कारण

अर्कोतर्फ पछिल्ला दुई वर्षदेखि देशभर निर्माण कार्य सुस्ताएका छन् । यसले सिमेन्टको ब्यापार अस्वभाविक रुपमा घटेको छ । उद्योगहरु आधाभन्दा कम क्षमतामा सञ्चालनमा रहेका छन् ।  सगरमाथा ब्राण्डमा सिमेन्ट उत्पादन गरिरहेको घोराही सिमेन्ट इन्डष्ट्रीज लिमिटेडको कारोबार नै अघिल्लो आवको तुलनामा २५ प्रतिशतले घट्नुले पनि निर्माण क्षेत्रमा छाएको मन्दीले सिमेन्टको माग घटेको देखाउँछ ।

गत आव २०७८/७९ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको ४ अर्ब ८० करोड १५ लाख रुपैयाँको सिमेन्ट बिक्रीबाट आम्दानी गरी २१ करोड ६५ लाख ४२ हजार नाफा आर्जन गरेको देखिन्छ । नाफा अनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८१ पैसा कायम गरेको थियो ।

यस्तै ६ महीनामा १ करोड ५८ लाख रुपैयाँ मात्र आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षमा ४६ करोड २८ लाख ६९ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणको तुलनामा ६ महीनामा ३ प्रतिशत मात्र नाफा आर्जन गरेकाले पनि कम्पनीको प्रक्षेपित आंकडा वास्तविक लाग्दैन । कम्पनीले चालु आर्थिक वर्षमा ९ अर्ब ८९ करोड २८ लाख रुपैयाँको कारोबार गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपण अनुसारको कारोबार हुन चालु आवको बाँकी ६ महिनामा अब ६ अर्ब २३ करोड कारोबार गर्नुपर्छ जुन असम्भव प्रायः छ । पहिलो ६ महिना जति कारोबार भए वार्षिक ३ अर्ब ६६ करोडको मात्र हुने देखिन्छ ।

उता १२ अर्बको ऋण भएको कम्पनीको चालु आर्थिक वर्षको वित्तीय लागत मात्रै १ अर्ब ८ करोड ५९ लाख तथा ह्रासकट्टी खर्च ६५ करोड ९१ लाख रहने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री लागत, प्रशासनिक खर्च लगायतका खर्च समेत गर्दा कम्पनीको खर्च उच्च रहेको छ । यस आधारमा कम्पनी चालु आवमा नै नोक्सानीमा जानेसक्ने देखिन्छ । प्रक्षेपितभन्दा एक तिहाइको कारोबार हुने अवस्थामा प्रक्षेपण अनुसार कारोबार नभए कम्पनी चालु आर्थिक वर्षमै नोक्सानीमा जाने अवस्थालाई नकार्न सकिन्न ।

प्रत्याभूतिकर्ता नागरिक लगानी कोष पुनः मुल्याङ्कनमा

धितोपत्र बोर्डले एक वर्ष अघि नै गरेको मुल्याङ्नको आधारमा घट्दो सेयर बजार सूचक र कम्पनीको वित्तीय अवस्थामा ठूलो फेरबदल आएकाले समस्या आएको छ ।

कम्पनीको विवरण अबास्तविक देखिएपछि सिमेन्टसको सेयर प्रत्याभूतिकर्ता (अन्डर राईटिङ) नागरिक लगानी कोषले कम्पनीसँग छलफल गरेर यसअघि नै पुनः मुल्याङ्कन गर्ने बताइसकेको अवस्था छ । सम्झौता अनुसार सर्वसाधारणमा जारी बिक्री नभएको अवस्थामा कोषले कम्पनीको सबै बिक्री नभएको सबै सेयर प्रस्तावित मूल्यमा सकार्नुपर्ने हुन्छ ।

कम्पनीहरुको साख मूल्याङ्कन गर्दै आएको रेटिङ एजेन्सी ‘केयर रेटिङस् नेपाल’ ले कम्पनीको आईपीओलाई ‘केयर एनपी त्रिपल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरुमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
नागरिक लगानी कोषले २०७९ साउनमा कम्पनीसँग सेयर प्रत्याभूतिकर्ता (अन्डर राईटिङ) प्रत्याभूति सम्झौता गरेको थियो ।

विद्युत प्राधिकरणलाई सवा १ अर्ब महसुल भुक्तानी बाँकी

पुरुषोत्तम लाल संघई अध्यक्ष रहेको घोराही सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई सवा १ अर्ब रकम डेडिकेटेड प्रसारणलाइनको विद्युत महसुल वापत भुक्तानी गर्न बाँकी छ । अन्य दायित्व हिसाब हेर्दा १ अर्ब ५१ करोड बढी रहेको उसैले प्रकाशन गरेको तथ्याङ्कले देखाउँछ ।

विद्युत महसुल भुक्तानी गर्न भन्दै प्राधिकरणले सार्वजनिक रुपमा नै पटक–पटक ताकेता समेत गर्दै आएको छ । उक्त भुक्तानी गरेमा कम्पनीको आव २०७८-७९ मा कायम भएको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ६१ पैसाभन्दा निकै झर्नेछ । यस्तै कम्पनीले आर्थिक वर्ष २०८०।८१ भित्रमा विभिन्न २० जना सञ्चालन तथा परिवारका सदस्यहरुलाई ९५ करोड २२लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । 

कम्पनीको विगतको लाभांश वितरण हेर्दा पनि उत्साहजनक देखिँदेन । घोराहीले आव २०७५–७६ र आव २०७६–७७ मा १०–१० प्रतिशत बोनस र २०७७–७८ मा ५ प्रतिशत वितरण गरेको देखिन्छ । हुवासीन, होङ्सी, शिवम् सिमेन्ट जस्ता अत्याधुनिक प्रविधि र उपकरण भएका उद्योगमा समेत लगानी थपिँदै जाँदा पछिल्लो वर्ष कम्पनीको व्यवसाय घट्दै गएको छ । सो आधारमा उद्योगले केही वर्षसम्म लगानीकर्तालाई गतिलो प्रतिफल दिने अवस्था अहिले देखिँदैन । कम्पनीकै अनुसार नै साधारण लगानी फिर्ता हुन ४ वर्ष ८ महिना तथा डिस्काउन्टमा लगानी फिर्ता हुन ८ वर्ष ५ महिना लाग्ने जनाएको छ ।

चौध बैंक तथा वित्तीय संस्थाबाट १२ अर्ब ३१ करोड ऋण

घोराही सिमेन्टले उद्योग सञ्चालनका लागि विभिन्न १४ बैंक तथा वित्तीय संस्थाबाट १२ अर्ब ३१ करोड १४ लाख रुपैयाँ ऋण लिएको छ । उच्च ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि कम्पनीले प्रिमियम मुल्यमा बिक्रीबाट प्राप्त हुने रकम समेत उपयोग गरिने बताएको छ ।

कम्पनीले प्रिमियममा आईपीओ बिक्रीबाट प्राप्त हुने रकममा सम्बन्धीत खर्चहरु कटाएर ३४ लाख १७ हजार ऋण भुक्तानी गर्ने उल्लेख गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्दा प्रिमियम मूल्यबाट २ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ प्रिमियम उठाउनेछ । कम्पनीले दुई चरणमा गरी कुल ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर बिक्री गर्ने जनाएको छ । जसमध्ये जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि तथा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो । सर्वसाधारणमा ६७ लाख ९१ हजार ९५० कित्ता छुट्टाएको छ ।

कम्पनीको सेयर पुँजी तीन अर्ब १७ करोड ७५ लाख रुपैयाँ तथा गत आवसम्म सञ्चित नाफा ३ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ छ ।

आंशिक क्षमतामा मात्रै उद्योग सञ्चालन

घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड लामो इतिहास बोकेको प्रख्यात व्यवसायिक त्रिवेणी समूहबाट तथा ब्यापारीक घराना विशाल ग्रुपबाट प्रवर्धित कम्पनी हो । उद्योगको क्लिंकरको वार्षिक क्षमता १ हजार ९०० टनबाट बढाएर वार्षिक ४ हजार टन र्पुयाएको छ । तर क्षमता अनुसारको उपयोग हुन सकेको छैन । आव २०७९-८० मा क्लिंकरको ५४ प्रतिशत क्षमता मात्रै उपभोग हुने अनुमान छ । यस्तै आर्थिक वर्ष २०८०-८१ मा ६४ प्रतिशत र आर्थिक वर्ष २०८१–८२ मा ७० प्रतिशत क्लिंकर क्षमताको उपभोग गर्ने प्रक्षेपण गरेको छ ।

विवरण अनुसार उद्योगको १० लाख ४० हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भए पनि आव २०७९-८० सिमेन्टको ७२ प्रतिशत मात्रै क्षमता उपभोग हुने अनुमान छ । यस्तै आव २०८०–८१ मा ७९ प्रतिशत र २०८१–७२ मा ८७ प्रतिशत क्षमता उपभोग गर्ने कम्पनीको प्रक्षेपण छ ।

नेपालको बजारमा राम्रो पकड भएको व्यवसायीक घरानाहरुबाट सञ्चालित उद्योग नै आंशिक रुपमा मात्रै सञ्चालन भएकाले उद्योगको आम्दानीमा सोही अनुसारको असर देखिने नै छ । कम्पनीले प्रक्षेपण अनुसारको अनुपातमा उत्पादन भएमा हालको अवस्थामा बजार अभाव देखिन्छ । निर्माण क्षेत्रमा छाएको मन्दीका कारण सिमेन्टको खपत बढ्न सकेको छैन । सोही कारण उद्योग आंशिक क्षमतामा मात्रै सञ्चालनमा आइरहेको छ । सरकारले निर्माण कार्यलाई तीव्रता दिन नसके तथा सिमेन्टको खपत हुने आयोजनाहरुको निर्माण नभएको खण्डमा उत्पादनको बिक्री गर्न बजार अभाव रहने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।