भारत भ्रमणका क्रममा जमिन सट्टापट्टाका बारेमा औपचारिक कुराकानी भएको छैन : प्रधानमन्त्री प्रचण्ड

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालमा लगानी बढ्ने वातावरण बनेको उल्लेख गर्दै यो बेला बलियो राष्ट्रिय एकता प्रदर्शन गर्ने गर्नुपर्ने भएको बताएका छन।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विकास र समृद्धिका लागि सबै नेपालीको साझा मत हुनुपर्नेमा त्यसो हुन सकेको छैन । इतिहासदेखि थाँती रहेका सबै समस्या समाधानका लागि विश्वासको वातावरण बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा भ्रमणका समयमा स्पष्टसँग छलफलले राम्रो नतिजा ल्याएको ल्याएको छ ।’

प्रधानमन्त्रीले टनकपुरमा सिँचाइका लागि पानी आउने वातावरण बनेको र पञ्चेश्वरमा २६ वर्षदेखि हुन नसकेको विषयमा समेत महत्वपूर्ण सहमति भएको बताए । मुलुकभित्र उत्पादित बिजुली स्वदेशमा नै खपत गर्ने तथा खपत बढाउने विषयमा सरकारले ध्यान दिएको र सोही अनुसारको नीति अगाडि सारेको उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल खपत बढाउन नसकिने भएकाले बिजुली निर्यातको विकल्प नभएको बताए।

भ्रमणका क्रममा सीमा क्षेत्रमा हुने डुबानका बारेमा आवश्यक छलफल र सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको जानकारी दिँदै उनले आगामी वर्षामा नै समस्या नआउने गरी काम गर्न निर्देश भएको बताए।

भ्रमणका क्रममा हवाई मार्गका बारेमा प्रस्ट शब्दमा अन्तर्राष्ट्रिय हवाई मार्गका रुपमा नेपालगञ्ज, महेन्द्रनगर, विराटनगरलगायत क्षेत्रमा प्रयोग गर्न पाउने गरी वातावरण बनाइदिन आग्रह गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।“राम्रो भएकालाई राम्रो भन्ने हो, नभएकालाई नभएको र नराम्रो भन्ने हो । लो अल्टिच्युडको जहाज चल्ने वातावरण बनेको छ । केही भएको छैन भनेर नकारात्मक कुरा गर्नु आवश्यक छैन”, उनले भने ।

कालापानी, लिपुलेकलगायत सीमा समस्या समाधानका लागि भ्रमणका क्रममा स्पष्ट शब्दमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “भारतीय प्रधानमन्त्री मोदीले नै नेपाल भारतबीच रहेको सीमा समस्या समाधान गर्ने विषयमा आफैँले संयुक्त पत्रकार सम्मेलनमा प्रस्ट प्रतिबद्धता आएको छ । उहाँले दुई देशबीचको सम्बन्धलाई सुपरहिट बनाउने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता छ ।” आफूले औपचारिकरुपमा कुनै पनि बैठकमा जमिन सट्टापट्टाका बारेमा कुराकानी नगरेको जानकारी दिँदै उनले यस विषयमा विभिन्न खालका मोडलहरु पनि छन् भनेर बुद्धिजीवीहरुले भन्दै आएको मात्रै भनेको बताए।

सीमा समस्या समाधानका बारेमा सरकारले नै अध्ययन गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धिजीवी, विशेषज्ञले नै सट्टापट्टाका बारेमा जानकारी दिने गरेको स्पष्ट पारे । उनले भने, “सीमा समस्या हल गरिन्छ । हल गर्छौं, दुनियाँका अगाडि उभिएर प्रतिबद्धता जनाउने कुरा आफैँमा महत्वपूर्ण छ । भारतीय प्रधानमन्त्रीले पनि पहिलो पटक समस्या समाधान गर्नुपर्छ, भनेर भारतीय प्रधानमन्त्रीले पनि प्रतिबद्धता जनाउनुभएको छ ।”

सङ्घीय संसद्ले दुई–दुईपटक पारित गरेको नागरिकता विधेयक जारी गर्न राष्ट्रपतिलाई अनुरोध गरिएको प्रधानमन्त्रीको भनाइ छ । नागरिकता विधेयकको स्थिति र अरू विधेयकको अवस्था फरक हो भनेर बुझ्न नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग पुगेको विधेयक शून्य हुन्छ भनेर संविधान वा कानुनमा कल्पनासमेत नगरिएको बताए ।

संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण विषय यसभित्र रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सदनले पठाएको महत्वपूर्ण विधेयक मन लाग्दा प्रमाणित गर्ने, मन नलाग्दा प्रमाणित नगर्ने अवस्था आएकाले सरकारले राष्ट्रपतिलाई अनुरोध गरिएको स्पष्ट पारे । नागरिकतासम्बन्धी ऐनका विषय अदालत प्रवेश गरेकाले त्यसलाई निर्णय गर्न छाडिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय सरकारी कम्पनी एनएचपिसीसँग फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा सहमति भएको बताए । भ्रमणका क्रममा कृषि क्षेत्रको विकासका लागि धेरै महत्वपूर्ण सहमति भएको, त्यसबाट कृषि उत्पादन बढ्ने र रोजगारी वृद्धि हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।
उखु खेतीको व्यावसायिक विकासका लागि नयाँ प्रजाति आउनु, कफीको नयाँ प्रजाति ल्याउनु महत्वपूर्ण रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको दुग्ध उत्पादन वृद्धिका लागि मुर्रा प्रजातिको राँगो यति नै बेला आउनु झनै राम्रो भएको बताए ।

भ्रमण दल ४० को आसपासमा रहेको र जम्बो नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस क्रममा इपिजीका बारेमा पनि छलफल भएको स्पष्ट पारे । नेपाली राष्ट्रिय हितको पक्षमा आफ्नो विवेक वा वर्कतले भ्याएसम्म भ्रमणका क्रममा प्रयास गरेको जानकारी दिँदै त्यसमा कुनै द्विविधा नराख्न आग्रह गरे।

भ्रमणका क्रममा कस्ले स्वागत गर्यो भन्ने विषय उति महत्वपूर्ण नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले आफू कुनै अपमानित नभएको बरु सम्मानित भएर आएको बताए। एउटै भ्रमणबाट धेरै विषय भयो त आफूले नभन्ने बरु यसबाट विकास र समृद्धिमुखी भएको उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।