श्रृजनशील लघुवित्तका सेयरधनीलाई छैन लाभांश, असार १५ मा एजीएम

0
Shares

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् ।

लघुवित्त कम्पनीको सञ्चालक समितिको जेठ १८ गते सम्पन्न भएको बैठकले आर्थिक वर्ष २०७८–७९ बाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैठकले असार १५ गते शुक्रबार लाभांश बिना नै चौथौ वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय गोलबजार नगरपालिका ७ चोहर्वा सिराहामा बिहान ११ बजे आह्वान गरिएको छ ।

चौथो वार्षिक साधारण सभाले श्रृजनशील लघुवित्त र अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीका प्रबन्धपत्र र नियमावलीमा नियमनकारीहरुबाट कुनै विषयमा थप संशोधन वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभामा छ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्त कम्पनीले असार ४ गते बुकक्लोज मिति तोकेको छ । बुकक्लोजको अनुसार असार ३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।