आरोपको खण्डन गर्दै ब्रोकर एशोसिएसनले भन्यो ‘नयाँसँग सहकार्य गर्न तयार छौं’

0
Shares

स्टक ब्रोकर एशोसिएसन नेपालले न्यु स्टक ब्रोकर एशोसिएसन नेपालको नामबाट अर्थ समितिलाई सम्बोधन गरी नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाईसेन्स सम्बन्धमा जारी ज्ञापन पत्र प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

यहि जेठ ३० गते न्यु स्टक ब्रोकर एशोसिएसन नेपालको नामबाट अर्थ समितिलाई सम्बोधन गरी जारी ज्ञापन पत्रमा धितोपत्र दलाल व्यवसायीहरुले पूँजी बजारका नियामक निकाय तथा बजार सञ्चालकबाट प्राप्त हुने निर्देशनहरुलाई लत्याउँदै आएको भन्ने झूठा, आधारहिन, कपोल्कल्पित र अवास्तविक आरोपलाई पूर्णरुपमा खण्डन गर्दछौं । यसलाई हाम्रो बजारको इतिहासले नै प्रष्ट पार्दछ । एशोसिएनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

ब्रोकर कम्पनीहरु धितोपत्र सम्बन्धी ऐन, नियम, विनियम, निर्देशिका, परिपत्र आदि अन्तर्गत रही नियामक तथा बजार सञ्चालकबाट प्राप्त निर्देशन तथा परिपत्रहरुलाई पूर्णतः अक्षरस पालना गर्दै दक्ष कर्मचारी, प्रविधियुक्त कारोबार प्रणाली तथा व्यवसायी मैत्री लगानी वातावरण मार्फत् लगानीकर्ताहरुप्रतिको सेवालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आईरहेको पनि एशोसिएसनको दाबी छ ।

धितोपत्रसम्बन्धी ऐन, नियम अन्तर्गत रही खुल्ला प्रतिस्पर्धाबाट पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेको भन्दै उच्च प्रतिस्पर्धाबाट नै स्थापित ब्रोकर कम्पनीहरु अहिले पनि एकआपसमा प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्दै आईरहेको ब्रोकर एशोसिएसनको भनाई छ ।

भविष्यमा पनि स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा समग्र पूँजीबजारको अग्रपङ्तीमा रही पूँजीबजारको वृहत्तर विकासको लागी लगानीकर्ताहरुको सेवामा सदैव समर्पित रहने छौं । ’सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरु’ भनी गरिएको झूठा, आधारहिन, कपोलकल्पित र अवास्तविक आरोपप्रति खेद प्रकट गर्दै सदैव प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न तत्पर रहेको जनाएको छ ।

तिन दशक लामो इतिहासमा नेपालमा सञ्चालित ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुको लागि धितोपत्रको कारोबार गरिदिने र भएको कारोबारको राफसाफ गर्ने बाहेक कुनै पनि सेवाहरु प्रदान गर्न दिईएको छैन । यसै परिप्रेक्ष्यमा नेपालको इतिहासमा दैनिक करिब २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको छ। उक्त कारोबारहरु ब्रोकर कम्पनीहरुबाट नै सम्पन्न भएको हो। उक्त कारोबारहरुको तोकिएको समयसीमा नै सफल ढंगले व्यवस्थित रुपमा राफसाफ तथा फछर्यौट समेत ब्रोकर कम्पनीहरुबाट नै सम्पन्न भएको एशोसिएसनको भनाई छ ।

तीसौं वर्षको इतिहासमा आजसम्म पनि पूँजीबजारको आधारभुत औजार राफसाफ कोष कार्यान्वयनमा नआएको अवस्था छ। अक्सन मार्केट उपलब्ध छैन । उधारो कारोबारबाट सिर्जित विषम परिस्थिती तथा उधारो सङ्कलनको कुनै कानुनी प्रावधानहरुको व्यवस्था छैन । यस्तो विषम परिस्थितिमा पनि बोकर कम्पनीहरुबाट उच्च व्यवसायिक दायित्व निर्वाह गर्दै कुनै पनि दिन धितोपत्र कारोबारको राफसाफमा एक दिन पनि ढिलाई नभएको तथा समस्या नभएको गौरवान्वित ईतिहास रहेको एशोसिएसनको भनाई छ ।

नेपालका बैंक, वित्तीय संस्था, सहकारी तथा अन्य क्षेत्रहरुमा बेलाबेलामा भुक्तानीसम्बन्धि विविध समस्याहरु देखिरहेको परिप्रेक्ष्यमा समेत ब्रोकर कम्पनीहरुले जस्तोसुकै विषम परिस्थितिमा पनि कुनै पनि लगानीकर्ताहरुलाई धितोपत्र विक्रि वापतको रकम भुक्तानी गर्न नसकेको वा नगरेको एउटा पनि उदाहरण नरहेको दाबी समेत गरको छ । धितोपत्र दलाल व्यवसायीहरुले ’तोकिएको समयभित्रै राफसाफ सेवा लगायतका कार्य व्यवसायिक र दक्ष कर्मचारी राखी सम्पन्न गर्न नसकिरहेका कारण लगानीकर्ताहरुको अबको सम्पत्ति जोखिममा रहेको’ भनी झुठा र भ्रामक आरोपको इतिहासले खण्डन गर्ने एशोसिएनसको भनाई छ ।

धितोपत्र दलाल व्यवसायीको लाईसेन्स वितरण प्रक्रियामा दलाल व्यवसायीहरुको कही कतै कुनै पनि प्रकारको भूमिका रहँदैन । धितोपत्र दलाल व्यवसायीहरुको यो प्रक्रियामा कही कतै कुनै पनि प्रकारको भूमिका रहेको पनि छैन लाईसेन्स बितरण प्रक्रियामा सरोकार राख्ने सम्बन्धित सबै सम्मानित निकायहरुलाई गुमराहमा पार्ने कुनै पनि प्रकारको प्रयासहरु धितोपत्र दलाल व्यवसायीहरुले गर्दैनन् र सम्मानित निकायहरु कसैको पनि गुमराहमा पर्न सक्छन् भन्ने विश्वास पनि गर्न सकिदैन । ’धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी अर्थ समितिले निर्देशन जारी गरेको’ भन्ने जस्ता अत्यन्तै संवेदनशिल, असान्दर्भीक तथा स्तरहिन आरोपप्रति संघको गम्भिर आपत्ति रहेको छ र यस्ता आधारहिन झूठा आरोपहरुबाट भ्रमित नहुन सरोकारवाला सबैलाई अनुरोध गर्दछौं । एशोसिएसनको विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र दलाल व्यवसायीहरु सधै स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट बजारको गरिमालाई उच्च बनाई राख्न तथा नियामक निकायहरुसँगको समन्वयमा नेपालको पूंजी बजारको वृहत्तर विकास र लगानीकर्ताहरुलाई उच्चस्तरको सेवामा सदैव समर्पित रहेको अनुरोध गर्दै प्रक्रियामा रहेका नयाँ साथीहरुसँग पनि आगामी दिनमा सहकार्य गर्दै अगाडी बढ्न स्टक ब्रोकर एशोसिएसन सदैव तत्पर रहेको जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।