संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन् ।
अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित ‘शान्ति र सद्भावका लागि योग अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले महर्षि पतञ्जलीले वैज्ञानिकरूपमा सूत्रबद्ध गरे पनि यसका लागि धेरै ऋषिमुनिले योगदान दिएका र त्यसमध्येमा गौतमबुद्धको नाम अग्रपङ्क्तिमा आउने बताए ।
नेपाल र भारतबीचको सम्बन्ध दुई हजार तीन सय वर्षअघि देखिको व्यापार सम्बन्धिबाट सुरु भएको बताउँदै मन्त्री किराँतीले प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताए । उनले रामबिना नेपाल र सीता बिनाभारत अपूर्ण हुने पनि स्पष्ट पारे । मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई मार्गका विषयमा भारत सरकारसँग छलफल सकारात्मक रहेको बताए ।
लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पताञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तरराष्ट्रिय योग दिवस २०२३ का अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई योगले पनि जोडेको बताए । उनले नेपाल–भारत सम्बन्ध युगौँदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप प्रगाढ बनेको बताए।
राजदूत श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाई मार्गबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । पतञ्जली योग समिति कपिलवस्तु शाखाका अध्यक्ष कृष्णमुरारी ज्ञवाली र नवलपरासी शाखाका अध्यक्ष नरुपति पाण्डेयले योग अभ्यास गराएका थिए । उक्त दिवसका अवसरमा पतञ्जली र स्थानीयवासीहरु गरी लुम्बिनीमा चार सय जनाले योग अभ्यास गरेका थिए।
योगाभ्यासमा मन्त्री किराँतीसहित, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत श्रीवास्तव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरु सरिक भएका थिए।
बुद्धजन्मस्थल लुम्बिनीमा हुने यस्ता कार्यक्रमले लुम्बिनीको प्रचारप्रसारमा योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । प्रत्येक वर्ष जुन २१ तारिखका दिन अन्तरराष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतीय राजदूतावासले नेपालमा प्रत्येक वर्ष योग दिवस मनाउने कार्यक्रमअन्तर्गत यस वर्ष लुम्बिनी र पोखरामा कार्यक्रम गरेको दूतावासका निरज भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया