धुर्मुस–सुन्तली फाउण्डेशनलाई कर छुट


सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले धुर्मुस–सुन्तली फाउण्डेशलाई करमा छुट दिने निर्णय गरेको जानकारी दिएकी हुन् ।

यस्तै बैठकले नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनःस्थापनाका लागि संयुक्तरुपमा नेपाली टोली गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता शर्माले भनिन्, “बाढी पहिरोका कारण अत्यन्त दुःखद् घटना भयो, धेरै मानिस विस्तापित हुने अवस्था आयो, मानवीय र धनजनको क्षति हुने जुन अवस्था बन्यो, त्यसको निम्ति प्रधानमन्त्री पनि घटनास्थल पुग्नुभएको छ, सरकार उद्धार, राहत, पुनःस्थापनामा लागिरहेको छ ।”

राहत पुनःस्थापनाभन्दा पनि उद्धारलाई प्रभावकारी बनाउने मुख्य विषय भएको र त्यसको निम्ति प्रधानमन्त्रीले घटनास्थलमै पुगेर निर्देशन दिएको उनको भनाइ थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।