नबिलको एनबैंक वेब सेवा मार्फत दैनिक २० तथा मासिक ५० लाखसम्म डिजिटल रुपमा पठाउन सकिने

0
Shares

नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो ।

ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रति दिन २० लाख र प्रति महिना ५० लाख रुपैंयासम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सकिने छ ।

एनबैंक वेबको सहयोगले प्रयोगकर्ता मैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ । एनबैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्डको वा क्युआर कोडको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

विनय कुमार रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत – एनबैंक र अपरेसन्स्, भन्छन्, “एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्दछ । यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ।“ अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिलनेट साउन ६ गते देखि बन्द हुने भएको छ । व्यक्तिगत खाता सञ्चालन गर्नु हुने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नु हुनेछ । उनले थपे, “हाल नबिलनेट प्रयोग गर्ने कर्पोरेट ग्राहकहरूले कर्पोरेटपे मा दर्ता गर्नुपर्नेछ ।“

एनबैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेप विरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्छन् । साथै, एनरेमिट, नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिट्यान्स सेवा पनि एनबैंक वेब मार्फत पहुँच गर्न सकिने छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।