काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारी माग गरेको छ । सहायक निर्देशकदेखि सहायकसम्मका पदमा कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना माग गरिएको छ ।
यसैगरी लेखा/लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीकै सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फको सहायक निर्देशक पद (अधिकृत तृतीय श्रेणी)मा २ जना र सूचना प्रविधितर्फको सहायक निर्देशक पद (अधिकृत तृतीय श्रेणी) मा चार जना कर्मचारी माग गरिएको छ ।
त्यस्तै, सहायक द्वितीय श्रेणी अन्तर्गतको सहायक पदमा २६ जना कर्मचारी माग गरिएको छ । यी पदमा खुला तथा समावेशी समूहबाट पदपूर्ति गरिने बैंकले जनाएको छ ।
दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकिएको छ । उक्त मितिसम्म दरखास्त दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np वा www.jobs.nrb.org.np मा गई अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।








