कृषि विकास बैंकले प्रस्ताव गर्यो पाँच वर्ष यताकै उच्च लाभांस


कृषि विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ३० प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । 

सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस तथा २४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्तावित लाभांस स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउनेछ । राष्ट्र बैंकको स्वीकृति पश्चात साधारण सभाबाट अनुमोदन भए पछि प्रस्तावित लाभांस लगानीकर्ताले पाउने छन् ।

गत वर्ष कृषिले १५.०५ % नगद र ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

सरकारको अग्रधिकार शेयर समेत गरी हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँको अग्राधिकार शेयर हो भने बाँकी ९ अर्ब १ करोड ५५ लाख २९ हजार रुपैंयाको साधारण शेयर छ । यो शेयरमा पनि सरकारको ५१ प्रतिशत स्वामित्व छ ।

बैंक सञ्चालक समितिले ९ अर्ब १ करोड ५५ लाख २९ हजार रुपैंया चुक्ता पुँजीको ६ प्रतिशत बोनस तथा २४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ ।

अग्राधिकार शेयर वापत भने सरकारले प्रत्येक आर्थिक वर्षमा स्थिर दरले ६ प्रतिशत नगद लाभांस लैजाने गरेको छ ।

बोनस वितरणपछि सरकारको अग्राधिकार शेयर समेतको चुक्ता पूँजीको आकार १५ अर्ब ३१ करोड ५१ लाख ३४ हजार रुपैंया पुग्नेछ ।