दुई कम्पनीको साढे ४४ करोडको आईपीओ आउने, सेबोनले दियो अनुमति

0
Shares

प्राथमिक बजारमा तत्कालै दुई कम्पनीको ४४ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको ४२ लाख ३० हजार १६२ कित्ता सेयर बिक्रीमा आउने भएको छ ।

पुँजी बजारको नियामक निकाय नपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई सो रकम बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । दुबै कम्पनीले स्थानीय र सर्वसाधारण गरी उक्त रकम बराबरको प्राथमिक सार्वजनिक निष्कासनका लागि अनुमति पाएका हुन् ।

बोर्डका अनुसार मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ बिक्रीका लागि असार ५ गते मंगलबार अनुमति पाएको हो । कम्पनीले जारी पुँजीको ३५ प्रतिशत बराबरको सर्वसाधारणमा सेयर बिक्री गर्न लागेको हो भने ६५ प्रतिशत बराबरको ५२ करोड रुपैयाँ चुक्ता भैसकेको छ ।

जारी पूँजी ८० करोड रहेको मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले २०७७ साल कार्तिक २३ गते आयोजना निर्माण सम्पन्न गरि पूर्ण रुपमा विद्युत उत्पादन गरिरहेको छ।

यस्तै भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अंकति मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता सेयर बिक्री गर्न असार ६ गते अनुमति पाएको छ । भगवति हाइड्रोपावरले जारी पुँजीको २५ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीमा संस्थापकहरुले ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ चुक्ता गरिसकेका छन् ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि विद्युत उत्पादन गर्दै आइरहेको छ । अयोजनाबाट २०६९ भदौ ५ गतेदेखि व्यावसायिक रुपमा विद्युत उत्पादन हुँदै आईरहेको छ ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस्तै भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।