साढे चौध महीनापछि नेप्सेमा दैनिक कारोबार साढे ६ अर्ब पुग्यो

0
Shares

सेयर बजारमा साढे १४ महीनापछि दैनिक साढे ६ अर्बको कारोबार भएको छ । असार १० गते आइतबार सेयर बजारमा ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

यसअघि २०७८ माघ २५ गते ६अर्ब २८ करोड ७२ लाख रुपैयाँको सेयर कारोबारभएको थियो । लामो समयपछि बजारमा उच्च भोल्यूममा कारोबार हुँदा यसदिन नेप्से सूचक पनि ३.०३ प्रतिशत अर्थात ६२.२१ अंकले बढेर २११७.७३ बिन्दुमा पुगेको छ ।

सबै उपसमुहगत सूचकमा हरियाली छाएको आइतबारको बजारमा एक दर्जन कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । यसदिन बजारमा कारोबार कित्ता समेत १ करोड ४७ लाख ५१ हजार पुगेको छ । यस्तै शिवम् सिमेन्टस एक्लैको करिब ५० करोडको सेयर कारोबार हुँदा सोलटी होटल, हिमालयन डिष्टिलरी, आईपीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल लाइफको २० करोडभन्दा माथिको सेयर कारोबार भएको छ ।

आज कारोबार संख्या र कित्तामा पनि शिवम् सिमेन्टस अगाडि छ । उक्त कम्पनीको ८ लाख ४४ हजार ४७४ कित्ता सेयर ४ हजार ७६ वटा संख्यामा खरिद बिक्री भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।