भीमदत्तका पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

0
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरूद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७ का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखाअधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्द राज उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

यस्तै भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधिहरू दिवाकर भट्ट, इश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टविरूद्ध मुद्दा दायर भएको हो।

आयोगका प्रवक्ता दाहालका अनुसार नगर प्रमुख विष्टलगायत दुई प्रमुख प्रशासकीय अधिकृतले आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियमविपरित छुट दिँदा भ्रष्टाचार भएको देखिएको हो।

तत्कालीन मेयर विष्ट र प्रशासकीय अधिकृत भट्टले ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अख्तियारको ठहर छ। उनीहरूसँग दोब्बर जरिवाना र कैद सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

यस्तै कन्स्ट्रक्शनका संचालकहरूविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो। इश्वरी प्रसाद भट्टको मृत्यु भइसकेको हुँदा बिगो रकम उनकी श्रीमतीबाट तिराउनुपर्ने माग अख्तियारले गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।