सरकारले कम्पनी नवीकरण नगरे आन्दोलनमा उत्रिने क्रसर व्यवसायीको चेतावनी


कोशी प्रदेश क्रसर व्यवसायी तथा मेची क्रसर व्यवसायीले असार १८ गते देखि उद्योग बन्द गरेर सडक संर्घषमा उत्रिने भएका छन् ।  सुनसरीको इटहरीमा आजपत्रकार सम्मेलन आयोजना गर्दै क्रसर उद्योगको कम्पनी नवीकरण गर्न सरकारले कुनै चासो नलिएको बताउँदै उद्योग नै बन्द गर्नुपर्ने बताएका हुन् ।

सरकारले क्रसर बन्द गराउने, नवीकरण नगर्ने तर आयकर, भ्याट नियमित तिर्नु पर्दा अब धान्न नसक्ने बताउँदै क्रसर नै बन्द गर्नुपर्ने बताएका छन् । सरकारले असार १८ गते सम्म नविकरण गर्ने प्रतिबद्धता नजनाए चरणबद्ध आन्दोलनमा उत्रिने समेत चेतावनी दिएका छन् । मेची क्रसर व्यवसायी संघका अध्यक्ष शेर बहादुर थापाले सरकारका कारण क्रसर व्यवसाय धरापमा परेको आरोप लगाए । उनले पटक पटकको कानून र ऐनले समस्या पारेको भन्दै सरकारको दिर्घकालीन सोच नै नभएको टिप्पणी गरे ।

राज्यले, आम जनताले क्रसर व्यवसायीलाई हेर्ने सोच नै तस्कर हो भन्ने छ अध्यक्ष थापाले भने ‘हामीले राज्यलाई कर तिर्छौ, कम्पनी नविकरण गरेका छौं तर हामी तस्कर भएका छौं ।’ त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रसर तथा खानी उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष देवराज तामाङले सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपालको नदिजन्य पदार्थ भारत निर्यात गर्ने तर नेपालका उद्योग बन्द गर्ने सरकारको योजनाबारे बुझ्न नसकेको बताए ।

तामाङले नेपालको नदिजन्य पदार्थ नेपालमै प्रयोग हुनुपर्ने धारणा राखे । सरकारले कम्पनी नवीकरण गरेर नेपालका उद्योग कलकारखानालाई चाहिने पदार्थ नेपालमै खपत गर्नु पर्नेमा जोड दिए । गत २०७९ पुस २० गते सरकारले क्रसर, बालुवा तथा खानी उद्योग बन्द गराई अवैध रुपमा खोलिएका तथा कानुन बाहिर सञ्चालनमा रहेका उद्योग बन्द गर्ने भन्दै छानबिन गरेको थियो । लगत्तै माघ ११ गतेको बैठकले असार मसान्तसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा पनि नवीकरण गर्न सरकारले चासो देखाएको छैन । नेपालभर २ हजार ५०० क्रसर कम्पनी छन् । यी भित्र २ लाख कामदार रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।