भगवती हाइड्रोपावरको आईपीओमा असार २४ गतेदेखि आवेदन दिन सकिने


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा असार २४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस्तै ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। सेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने छन् । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र रोजगारीमा गएकाहरुले सेयर बिक्री गरेपछि आम सर्वसाधारणलाई बिक्री खुला गर्ने जनाएको छ ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले साउन ७ गतेसम्म आवेदन दिनुपर्ने छ । सो अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि साउन २२ गतेसम्म  लम्बिने छ ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ । कम्पनीका सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको बारेमा

कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
जसको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।