रिलायबल लाइफले पायो प्रिमियममा आईपीओ बेच्न अनुमति, ३ अर्बको आउने

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आज (असार १५ गते) आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । 

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १५७ रुपैयाँ प्रिमियम सहित २५७ रुपैयाँको दरले १ करोड २० लाख कित्ता सेयर बिक्रीको अनुमति प्रदान गरेको हो । यसअनुसार कम्पनीले कुल २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याउनेछ ।

कुल १ करोड २० लाख कित्ता मध्ये ३ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारी, ५ प्रतिशत अर्गात ६ लाख म्युचुअल फण्डका लागि र सर्वसाधारणमा जारी हुने १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि र बाँकी ९८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ ।

कम्पनीले बीमा क्षेत्रबाट सबैभन्दा पहिला प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति मागेपनि बोर्डले स्वीकृतिमा ढिलाई गर्दा आईएमई लाइफले पहिलो बीमा कम्पनीको रुपमा प्रिमियम मूल्यमा आईपीओ बिक्रीमा ल्याइसकेको छ । कम्पनीले आजै मात्रै वैदेशिक रोजगारीमा रहेकालाई जारी १२ लाख कित्ता सेयरको निष्कासन बन्द गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा १ करोड २० लाख कित्ता सेयर जारी गर्न निवेदन दिएको थियो । अनुमति पाएसँगै सबैभन्दा पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि जारी गर्नेछ भने त्यसपछि मात्रै सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

कम्पनीले प्रिमियमबाट मात्रै १ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्नेछ । १ करोड २० लाख कित्ताबाट संकलन हुने १ अर्ब २० करोड संकलन भएसँगै आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी चुक्ता पुँजी ४ अर्ब पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन कम्पनीले बोनस तथा हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ । यद्यपी कम्पनीले आईपीओ निष्कासनबाट एक अर्ब ७८ करोड प्रिमियम संकलन गर्ने हुँदा बोनसबाटै पनि न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।