सरकारले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा नदिए सेवा बन्द गर्ने सिबिफिनको चेतावनी


बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सरकारले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा नदिए पूर्ण रुपमा सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

सिबिफिनले एक विज्ञप्ति प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीप्रति आक्रमण र दुर्व्यवहारका घटना नरोकिएमा सेवा प्रवाह नै बन्द हुन सक्ने चेतावनी दिएको हुन् ।

सिबिफिनले बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सबैसँग आग्रह गरेको छ ।

सम्बन्धित निकायले सुरक्षाको प्रबन्ध नगर्ने हो भने  सेवा नै बन्द गर्ने अवस्था आउन सक्ने बताएको हो । अहिले विभिन्न व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण तथा मानमर्दन लगायतका क्रियाकलाप हुँदा सेवा प्रवाहमा समस्या भइरहेको सिबिफिनले जनाएको छ ।

सुरक्षाको प्रबन्ध नभएमा राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्ण रुपमा बन्दै गर्नुपर्ने अवस्था आउने र यसले अर्थतन्त्रमै अकल्पनीय संकट आउन सक्ने पनि सिबिफिनले चेतावनी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।