धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार आजदेखि रोक्का

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का भएको छ । दुबै कम्पनीको सेयर कारोबार अबका १५ दिन रोक्का रहने छ ।

एक आपसमा मर्जरमा रहेका दुबै कम्पनीले आजदेखि मर्ज भएर ‘धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

दुई लघुवित्तको सेयर स्वाप अनुसारको मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि १५ दिन सेयर कारोबार रोक्का रहनसक्ने मर्जर विनियमावलीमा व्यवस्था रहेको छ । सोही बमोजिम दुबै लघुवित्तको सेयर कारोबार रोक्का रहने छ ।

नेपाल राष्ट्र बैंकले जेठ २४ गते र त्यसपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ गते कम्पनी रजिष्ट्रारको कार्यालय मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । सोभन्दा अघि दुबै कम्पनीले चैत ६ गते सम्पन्न विशेष साधारण सभा मार्फत मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

दुई लघुवित्तबीच २०७९ मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए ।

धौलागिरी लघुवित्तको र खप्तड लघुवित्त वित्तीय संस्था १ः०.७५ को सेयर स्वाप अनुपातमा मर्जर भएको हुन् । यी दुई लघुवित्त वित्तीय संस्था गाभिई संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको छ भने खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो भने धौलागिरि लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।

धौलागिरी र खप्तड दुबै लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि सेयर जारी गरिसकेका छन् । धौलागिरीले ३ करोड ३१ लाख रुपैयाँ र खप्तड लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको थियो ।

एकीकृत कारोबारपछि संस्थाको जारी तथा चुक्ता पुँजी १३ करोड ३१ लाख र अधिकृत पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । यस्तै मर्जर पश्चात कायम हुने संस्थाको केन्द्रीय कार्यालय बाग्लुङ्ग नगरपालिका वडा नम्बर २, बाग्लुङ्ग रहनेछ । लघुवित्तमा अध्यक्ष धौलागिरीको अध्यक्ष ईश्वरलाल राजभण्डारी नै रहनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।