बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेनन्


चालु आर्थिक वर्ष २०७९\८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन् । यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको एक अर्ब ६९करोड ४८ लाख रुपैयाँ कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ ।

सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चाैडी नगरपालिकाले गरेको छ । मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन् ।

पञ्चेश्वर गाउँपालिकाले १२ करोड ५८ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ८८ दशमलव ८१ प्रतिशत मात्रै खर्च गरेको छ । चालुुतर्फको ३० करोड २९ लाख रुपैयाँ मध्ये ८३ दशमलव ३६ प्रतिशत खर्च गरेको छ । दोगडाकेदार गाउँपालिकाले १५ करोड ७३ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ८६ दशमलव ९० प्रतिशत खर्च गरेको छ । चालुतर्फ भने ४१ करोड ४७ लाखमध्ये ९२ दशमलव ७० प्रतिशत खर्च गरेको मगरातीले जानकारी दिए ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले १९ करोड ६९ लाख रुपैयाँ विकासे बजेटमध्ये ८६ दशमलव ३९ प्रतिशत र चालुतर्फको ४५ करोड ५२ लाख रुपैयाँमध्ये ९५ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको छ । सिगास गाउँपालिकाले रु १७ करोड ६८ लाख पँुजीगत बजेटमध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ भने चालुतर्फको ३८ करोड ८६ लाख रुपैयाँमध्ये ९२ दशमलव ८८ प्रतिशत खर्च गरेको छ ।

प्रमुख मगरातीका अनुसार डिलाशैनी गाउँपालिकाले १७ करोड ५० लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ८३ दशलमव ३१ प्रतिशत खर्च गरेको छ । चालुतर्फको ३२ करोड ३९ लाख रुपैयाँमध्ये ९१ दशमलव ८९ प्रतिशत खर्च गरेको छ । सुर्नया गाउँपालिकाले ११ करोड ४९ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ । चालुतर्फको ३६ करोड १८ लाख रुपैयाँमध्ये ९३ दशमलव ६७ प्रतिशत खर्च गरेको छ ।

यस्तै शिवनाथ गाउँपालिकाले १४ करोड ११ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ७६ दशमलव ७७ प्रतिशत तथा चालुतर्फको २५ करोड ५५ लाख रुपैयाँमध्ये ९१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ । पाटन नगरपालिकाले २० करोड १८ लाख रुपैयाँ मध्ये ७० दशमलव ७४ प्रतिशत पँुजीगत खर्च गरेको छ । चालुतर्फ ४८ करोड २९ लाख रुपैयाँमध्ये ८८ दशमलव ८५ प्रतिशत खर्च गरेको छ ।

यसैगरी पुर्चाैडी नगरपालिकाले चालुतर्फको ४७ करोड १० लाख रुपैयाँ मध्ये ४३ करोड ८० लाख रुपैयाँ अर्थात् ९३ प्रतिशत खर्च गरेको छ । मेलौली नगरपालिकाले ४८ दशमलव ८२ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च गरेको छ । उसले १९ करोड ३० लाख रुपैयाँमध्ये नौ करोड ४२ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यस्तै नगरपालिकाले चालुतर्फको ३६ करोड ३७ लाख रुपैयाँ मध्ये ३१ करोड ३१ लाख रुपैयाँ अर्थात् ८६ दशमलव ०९ प्रतिशत खर्च गरेको छ ।

नगरप्रमुख भीमबहादुर चन्दले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिला गरिँदा विकासे बजेट खर्च गर्न नसकिएको बताए । उनले भने, “कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो । भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढ्छ ।”रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।