होटल माइस्टिक माउन्टेनको कमायो २५ करोड, १७१ प्रतिशतको वृद्धि

0
Shares

काभ्रेपलान्चोकको मन्डन देउपुरमा अवस्थित होटल माइस्टिक माउन्टेन प्रालिले सन् २०२२ मा २५ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यसअघि सन् २०२१ मा ९ करोड ३० लाख सञ्चालन आम्दानी गरेको थियो । पछिल्लो वर्षमा होटलको आम्दानी १७०.९० प्रतिशतले बढेको हो ।

होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको २२.२ प्रतिशत थियो भने सन् २०२२ मा उक्त नाफा कुल सञ्चालन आम्दानीको ४८.२० प्रतिशत रहेको छ ।

सन् २०१३ मा स्थापना भएको होटल काभ्रेपलान्चोकको मन्डन देउपुरमा रहेको छ । राजधानी काठमाडौँ देखि ३० किलोमिटरको दूरीमा होटल अवस्थित छ । ३.५ एकडमा निर्माण भएको होटलले ७२ कोठाको चार तारे रिसोर्ट पनि सञ्चालन गर्दै आएको छ । होटलको एकल स्वामीत्व बालकृष्ण धोजुले गरेका छन् ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा अकुपेन्सी दर बढ्दै गएको छ । जसकारण होटलको आम्दानीमा सकरात्मक परेको छ । सन् २०२१ मा होटलको अकुपेन्सी दर ४२ प्रतिशत थियो भने सन् २०२२ मा ६० प्रतिशत पुगेको छ । कोभिड–१९ संक्रमण कम हुँदै गएपछि कर्पोरेट हाउसहरुले सेमीनार तथा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । यस्तै नगरकोटदेखि सूर्योदय हेर्न र मनोरम दृश्यमा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरु नगरकोट जाने गरेका छन् । जसकारण पनि होटलको आम्दानीमा ठूलो सुधार आएको छ ।

होटलले ५६ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ५२ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र ३ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।