घोराही सिमेन्टको आईपीओ आवेदन फिर्ता लिन बैंकमै पुगेर आइतबारभित्र लिखित निवेदन दिनुपर्ने

0
Shares

घोराही सिमेन्टको प्रिमियम मूल्यमा आईपीओमा भरेका लगानीकर्ताहरुले आफ्नो आवेदन फिर्ता लिन चाहेमा शुक्रबार र आइतबारभित्र बैंकमा पुगेर लिखित निवेदन दिनुपर्ने भएको छ । यस्तै यस अवधिमा यसअघि आवेदन दिएकाहरुले सेयर संख्या घटाउन, बढाउन वा फिर्ता लिएर आवेदन रद्द समेत गर्न सक्ने कम्पनीले जनाएको हो ।

कम्पनीको सेयरमा बिक्री प्रबन्धकक रहेका हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज सूचना जारी गर्दै भनेको छ,—‘नेपाल धितोपत्र बोर्डको निर्देशानुसार सेयर खरिदका लागि आवेदन दिई सकेका आवेदकहरुले सो आवेदनमा सेयर संख्या थप–घट गर्न वा आवेदन फिर्ता लिन चाहेमा मिति २०८० असार २२ गते शुक्रबारदेखि २०८० असार २४ गते आइतबारभित्र बैंकिङ्ग समयसम्म आफ्नो सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था गई लिखित निवेदन दिनुहुन अनुरोध छ ।’

सूचना अनुसार लगानीकर्ताले अब शुक्रबार र आइतबार कार्यालय समयभित्र आफ्नो आवेदन रद्ध गर्न वा संसोधन गर्न सक्नेछन् । आवेदन रद्ध वा संसोधन गर्न चाहेमा त्यसका लागि आफ्नो बैंक खाता रहेको बैंकको शाखा पुगेर लिखित निवेदन दिन सक्नेछन् । 

साथै कम्पनीले असार ४ गतेबाट स्थगित गरिएको आईपीओको शुक्रबारदेखि पुनः बिक्री खुला गरेको छ । बोर्डले छानबिन गरि असार २० गते आइतबारका दिन शर्तसहित पुनः आईपीओ निष्काशन गर्न दिने निर्णय गरेको थियो । बोर्डको निर्णयपछि कम्पनीले असार २२ गतेदेखि पुनः आईपीओ निष्काशन खुला गरेको हो ।

घोराहीको आईपीओमा पुनः छिटोमा असार २४ गते आइतबारसम्म आवेदन दिन सकिन्छ । सो अवधिभित्र निष्काशित सेयर बिक्री नभएको खण्डमा यसअघि निष्कासन भएको पाँच दिन, थपिएको तीन दिन र त्यसपछिको एक सातासम्म अर्थात ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ करोड ११ लाख ६७ हजार रुपैयाँ बराबरको ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्स नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यस रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

घोराही सिमेन्टको आईपीओमा अन्तिम दिन अगावै फर्जी आवेदन मार्फत ओभरसब्क्राइब भएको भएपनि म्याद थप गरिएपछि धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन स्थगित गर्दै अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको रकम कम्पनीको खातामा जम्मा भैसकेको र सर्वसाधारणबाट आवेदन भएको ३ अर्ब ६१ करोड रकम समेत बन्धक बनेपछि बोर्डले अनुसन्धानलाई निरन्तरता दिँदै आवेदन फिर्ता लिन, संसोधन मार्फत थपघट गर्न वा पुनः आवेदन दिन पाउनेगरी निष्कासन खुला गर्ने निर्णय गरेको थियो ।

सम्बन्धीत अन्य समाचारहरू:-

घोराही सिमेन्टको आइपीओ प्रकरणमा संघईद्वारा एनआईसी एशिया बैंकको गलत प्रयोग

घोराही सिमेन्टको आइपीओ आवेदन फिर्ता गर्न ३ दिनको समय

धितोपत्र बोर्डको कमजोरीले घोराही सिमेण्टमा सर्वसाधारणको ४ अर्ब बन्धक

निष्काशन भईरहेको आईपीओ पहिलो पटक स्थगित, घोराही सिमेन्टको रेटिङमा कैफियत

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।