सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री


अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा उनले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका हुन् ।

उनले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे ।

कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको बताए ।

उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए । अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताए । उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे ।

उनले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए । अर्थमन्त्री डा महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन चाहेको र सोहीअनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको उल्लेख गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।